एनआईसी एशिया बैंकमा मेसिनबाटै नगद जम्मा गर्न सकिने

क्यास रिसाइकलर सेवा सञ्चालनमा

काठमाडौँ । एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने ‘क्यास रिसाइकलर’ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवामार्फत ग्राहकले सहज रुपमा बैंकको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्ने जनाएको छ ।

यस सेवाअन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था छ । यस मेसिनबाट हजार र पाँच सय दरका नोट मात्र जम्मा गर्न मिल्ने बैंकले जनाएको छ ।

एक जना ग्राहकको खातामा दैनिक अधिकतम ९९ हजार ५ सय रुपैयाँसम्म नगद जम्मा गर्न सकिने सीमा रहेको छ ।

उक्त सेवाअन्तर्गत नगद जम्मा गर्न क्यास रिसाइकलर मेरिनमा डेबिट कार्ड छिराएर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने-राख्ने बक्स खुल्नेछ । उक्त बक्समा आफुले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा मौज्दात गरिदिने छ ।

खातामा जम्मा भएको रकमको जानकारी समेत ग्राहकले एसएमएस तथा रिसिप्ट मार्फत प्राप्त गर्ने व्यवस्था बैंकले गरेको छ ।

बैंकले यो सेवा हाल आफ्नो कर्पोरेट अफिस शाखा थापाथलीमा सञ्चालन गरेको जनाएको छ । निकट भविष्यमा देशका अन्य शाखामा समेत यो सेवा विस्तार गर्ने योेजना बनाइरहेको जनाएको छ ।

यो सेवाले भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहक महानुभावहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

यो मेसिनबाट ग्राहकले दैनिक रुपमा एटिएम मेसिनबाट झै सरल रुपमा नगद झिक्न समेत सक्ने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया