पानीकाे निकास कब्जामा

सुर्खेत। वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र सानो पानी पर्ने बितिकै विभिन्न ठाउँहरु डुवानमा पर्ने गरेका छन । पछिल्लो समय नगर क्षेत्रभित्र रहेका प्राकृतिक पानीको निकास मासिदा डुवानको समस्या विकराल बन्दै गएको छ । नगर क्षेत्रको उत्तरी जलाधार क्षेत्रदेखि दक्षिण निकास खोला र पूर्व धुलियाविटदेखि पश्चिम बाङ्गेसिमल क्षेत्रमा करिव ३ सय ७२ वटा पानी बग्ने नालाहरु रहेको नापी कार्यालय सुर्खेतले जनाएको छ ।

नेवारे खोला, इत्राम खोला, र खोर्के खोला वीरेन्द्रनगरका मुख्य खोलाहरु हुन् । वर्षाको औसत हेर्ने हो भने वीरेन्द्रनगरमा पानीको सहज निकासका लागि २० मिटरभन्दा फराकिला खोला आवश्यक पर्ने विज्ञहरु भनाइ छ । तर, यी खोलाहरु पनि मासिदै मापदण्डभन्दा कमका भएका छन् । सरकारले पानीको निकासका लागि छुट्याएको नालाहरु अहिले प्रायः नक्सामा मात्र सिमिति भएका छन् । यी नालाहरु कोही व्यक्तिले हडपेका छन् भने, केहीमा सडक बनेका छन् । जसले पानीको सहज निकास नहुँदा सामान्य वर्षा हुँदा पानी खोला तिर नभई वस्ती र सडकमा बग्ने गरेको छ । गुरुयोजना विपरित भौतिक संरचना निर्माणको क्रमले पनि थप चुनौती थपिदै गएको छ ।

डुवान हुनबाट वीरेन्द्रनगरलाई जोगाउन व्यक्ति तथा सडकका नाममा हडपिएका प्राकृतिक नाला खोलिए मात्र डुवानको दिर्घकालिन समस्या समाधान हुने वीरेन्द्रनगर नगरपालिकाका निर्वतमान नगर प्रमुख देवकुमार सुवेदीले बताए । ‘यदि वीरेन्द्रनगरलाई पानीजन्य विपद्बाट जोगाउने नै हो भने व्यक्तिबाट मिचिएका नालाहरु खोलिनु पर्छ ।’ सुवेदी भने, ‘झट्ट हेर्दा यो असम्भव देखिए पनि दिर्घकालिन समस्या समाधानको उपाए भनेकै यही हो ।’ यसका लागि नगरवासीको पनि सहयोग हुनुपर्ने सुवेदीले बताए।

धुलियाविटदेखि बाङ्गेसिमलसम्म पर्ने रत्नराजमार्गको उत्तरतर्फ पानी बग्ने उचित नाला नहुनुले पनि डुवानको समस्या देखा पर्ने गरेको छ । नापी कार्यालय सुर्खेतको तथ्यांक हेर्ने हो भने नगर क्षेत्रभित्र रहेका खोलाहरुबाहेक अधिकाँश खोल्सा, कुलो, नारा, मुलपानी लगायत ३ सय ७२ वटा पानीका भुमिगत निकासहरुमा कहि सडक बनेका छन्, भने कतै विद्यालय तथा व्यक्तिका नामका पक्की भौतिक संरचना बनेका छन् । अन्तर्गतका वडाहरुमा ३५ वटा पानीका निकास छन् । तर, यी निकास केही बाहेक प्राय मासिएका छन् ।

यस्तै साविक कटकुवा गाविस क्षेत्रमा ४४, साविक गोठिकाँडा गाविसमा ४७, बयलकाँडा ४९ र साविक लाटिकोइली क्षेत्रमा सबैभन्दा धेरै १ सय ७९ वटा पानीका निकासहरु रहेका छन् । मासिएका पानीका निकासहरु खोल्नका लागि प्रयास भने नभएको होइन । नगर व्यवस्थापनको जिम्मा पाएको सुर्खेत उपत्यका नगर विकास समितिले विभिन्न समयमा पानी बग्ने निकासहरुको तथ्यांक लिने गरेको छ । तर, मासिएका निकास नगर विकासको नाममा फिर्ता गराउन भने सकेको छैन । विभिन्न समयमा वीरेन्द्रनगरलाई व्यवस्थित सहरमा रुपान्तरण गर्न गुरुयोजना निर्माण गरी लागु गर्ने कुरा उठ्छ तर, गुरुयोजना भने अहिलेसम्म बन्न सकेको छैन । करिव ४२ वर्ष अगाडि तत्कालिन स्व. राजा वीरेन्द्रले वीरेन्द्रनगरको गुरुयोजना बनाउन लगाएउनु भएको थियो । त्यस यता वीरेन्द्रनगरको गुरुयोजना बन्न सकेको छैन । हाल गुरुयोजना विपरित रत्नराजमार्गको दक्षिणी क्षेत्रका खेतियोग्य जमिनमा धमाधम वस्तीकरण भइ रहेको छ । जसले वीरेन्द्रनगर विस्तारै क्रंङ्गक्रिटमय बन्न थालेको छ ।  यता सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्षसमेत रहेका नगरपप्रमुख मोहनमाया ढकालले नगर विकासका नाममा रहेको जग्गा फिर्ता गराएरै छाड्ने दावी गरीन् ।

तपाईको प्रतिक्रिया