सालकोटमा ५० शैयाको अस्पताल बनाउन सफल भयौं : नगरप्रमुख भण्डारी (अन्तरर्वार्ता)

नेपालको संविधानले स्थानीय तहलाई आँगनको सरकारको रुपमा परिभाषित गरि विशेष अधिकारसमेत दिएको छ । नागरिकको मौलिकहकमा प्रदत्त अधिकारहरुको प्रत्याभुति गर्दै घरदैलोमै गुणस्तरीय सेवा दिनु स्थानीय तहको मुख्य दायित्व हो । संघीयता कार्यान्वयनका लागिसिंहदरवार गाउँसम्म पुगेका छन् । २०७४ सालको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिले आफ्नो कार्यकाल सकेर बिदा भएसँगै गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट नयाँ जनताका प्रतिनिधिसमेत आइसकेका छन् । नयाँआएका जनप्रतिनिधिबाट नागरिकले ठुलो आशा गरेका छन् । समृद्धिका विभिन्न एजेण्डासहित जनतामाझ गरिएका बाचा पुरा गर्नु जनप्रतिनिधिको मुख्य जिम्मेवारी हो । स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्रमुख प्राथमिकता दिएका दलहरुले आफ्ना बाचा पुरा गर्न कसरी काम गरि रहेका छन् ?नीति तथा वजेटका प्राथमिकता के छन् ? लगायत विषयमा रहेर नव निर्वाचित पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारीसँग नेपालीरैबारकर्मीले गरेको कुराकानीको सम्पादित अंश :

लालवीर भण्डारी
नगरप्रमुख, पञ्चपुरी नगरपालिका, सुर्खेत  : तस्बिर : नेपाली रैबार 

१ : निर्वाचित भएर आएसँगै पहिलो नीति तथा कार्यक्रम र वजेट पारित गर्नु भएको छ, वजेटका प्राथमिकतामा के राख्नु भएको छ ?

सर्वप्रथम मेरा कुरा मिडियामार्फत नगरवासीकामाझ राख्ने मौका दिनु भयो म यहाँलाई धन्यवाद दिन चाहन्छु । म निर्वाचित भएर आएसँगै भर्खरै हामीले वजेट ल्याएका छौं । नगरको समृद्धिका लागि यसपालीको वजेटमा पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य राखेका छौं भने, दोस्रोमा कृषि, पशुपालन तथा रोजगारी परेका छन् । नगरवासीलाई गुणस्तरीय शिक्षा र स्वास्थ्यको प्रत्याभुति गर्दै कृषि तथा पशुपालन क्षेत्रका माध्यमबाट युवाहरुलाई उत्पादन र रोजगारीमा जोड्ने नीति अवलम्बन गरेका छौं ।महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गहरुका लागि विभिन्न कार्यक्रमहरु वजेटमा अगाडि सारेको छु । सेवा प्रवाहमा सहजता ल्याउन विशेष पहल गर्ने योजनमा छु । नगर क्षेत्रभित्र वर्षौदेखि भुमिहिनहरुको समस्या समाधानका लागि लालपूर्जा वितरणको काम मेरै कार्यकालमा भएको यहाँहरुले देख्न पाउनु हुनेछ ।

२ : यसअघिका जनप्रतिनिधिले काम गर्न सकेनन् भन्ने गुनासो छ नी ? के भन्नुहुन्छ ?

वास्तवमा तपाईको यो प्रश्न जायज नै हो जस्तो मलाई लाग्छ । किनभने संघीयताको पहिलो अभ्यास भएका कारण पनि नीति, निर्माण, वित्तिय व्यवस्थापन, वजेट निर्माण जस्ता क्षेत्रहरु नयाँ भएकाले केही समय यसबारे बुझ्न समय लाग्यो तर, पनि कामै भएन भन्न मिल्दैन । नगरपालिकालाई आवश्यक पर्ने कानुन निर्माण भएका छन् । सडक पूर्वाधार, नगरको प्रशासनिक भवन, वडा कार्यालयहरु बनेका छन् । शिक्षा, स्वास्थ्य, कृषिमा पनि सुधारका प्रयास भएका छन् । रोजगारीको अवस्था सिर्जना भएको छ । सेवा प्रवाहमा सुधार आएको छ । मेरो विचारमा पञ्चपुरी नगरपालिकामा पहिलो नेतृत्वले समृद्ध नगरको जग बसाएको मेरो बुुझाई हो ।

३ :  युवालाई कृषिका माध्ययमबाट उत्पादन र रोजगारीमा जोड्छौं भन्नु भएको छ ?यो कसरी सम्भव छ?

मनिर्वाचित हुँदै गर्दा मैले चुनावमा बाचा पनि गरेको थिए । नेपाली कांग्रेसलाई पञ्चपुरीवासीले पुनः विश्वास गरेको खण्डमा शिक्षा, स्वास्थ्य, कृषिलाई विशेष प्राथमिकतामा राख्ने कुरा नगरवासीका माझमा राखेका थियौं । सोही अनुसार हामी निर्वाचित पनि भएका छौं । विशेष गरी नगरवासीलाई आत्मनिर्भर बनाउन मेरो ५ वर्षे कालमा कृषिलाई प्रमुख प्राथमितामा राखेर आधुनिक कृषि पर्णालीको विकास गरी नगरवासीलाई कृषिमा आत्मनिर्भर बनाउनमा मेरो ध्यान जानेछ । विदेशी भुमिमा ५० डिग्रीको तातोमा पसिना बगाउन बाध्य हुनु भएका युवाहरुलाई नगर भित्रै कृषि, पशुपालन जस्ता क्षेत्रमा लगाई गाउँमै उत्पादन र रोजगारीको अवसर सिर्जना गरीपेट पाल्नकै लागि विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्नु मेरो मुख्य योजना हुनेछ । जसका लागि कृषि तथा पशुपालनका लागि प्रचुर सम्भावना बोकेका क्षेत्रहरुलाई कृषि पकेट क्षेत्र घोषणा गरी कृषिमा लाग्न चाहने युवाहरुलाई नगरपालिकाले विभिन्न कार्यक्रम मार्फत समेट्ने छ । कृषिमा आधुनिकीकरण गर्दैकृषक बन्न चाहने युवाहरुलाई कृषि सम्बन्धी आवश्यक ज्ञान, सिप, तालिम र अनुदानमा नगरपालिकाले विशेष कार्यक्रम लागु गर्नेछ । जसले युवाहरुलाई आफ्नै घर छेउमा रोजगारी सिर्जना हुनेछ भन्ने मेरो विश्वास हो । कृषि र पशुपालमा आत्मनिर्भर नगर बनाउन व्यवसायिक कृषि र पशुपालनमा जोड दिएका छौं । उत्पादित वस्तुको बजारीकरणमा नगरपालिकाले काम गर्नेछ ।

४ : नगरवासीलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य प्रत्याभुति कसरी गर्नुहुन्छ ?

यस अघिको स्थानीय सरकारले स्वास्थ्यका क्षेत्रमास्वास्थ्य सेवाइकाईहरु निर्माण गरी स्वास्थ्यचौकीका भवन निर्माण भएका छन् । विद्यालय, खानेपानी, सिंचाई लगायतका पूर्वाधारका थुप्रै काम भएका छन् । केही योजनाहरु अधुरा पनि छन् तिनीहरुलाई निरन्तरता दिन नगरवासीले पुनः नेपाली कांग्रेसलाई जिम्मेवारी दिनु भएको छ । यसअघिको स्थानीय सरकारका पालामा अधुरा रहेका कामहरु पुरा गर्ने लक्ष्य राखेका छौं । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरवासी सामु मैले पहिलो एजेण्डा अघि सारेको थिए । यदि म विजयी भए भने सालकोट स्वास्थ्यचौकीलाई स्तरोन्ती गरी ५० शैयाको अस्पताल बनाउछु । यो बाचा पुरा भएको छ । अस्पताल निर्माणको लागि प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा वजेटमा समेटेको छ । यस्तै शिक्षाको गुणस्तर सुधारमा ध्यान केन्द्रित गर्नेछु ।यो वा त्यो कारणले कसैले पनि पढाईबाट वञ्चित हुनु हुँदैन भन्ने मेरो मान्यता हो । जनता बहुमुखी क्याम्पसको स्तरोन्ती, प्राविधिक शिक्षा अध्ययन भई रहेका विद्यालयको थप स्तरोन्ती गरी गुणस्तरीय प्राविधिक शिक्षामा जोड दिइने छ । प्राविधिकमैत्री नगर बनाउन कृषि क्याम्पसको अवधारणा अगाडि सारेको छु । सोही बमोजिम कृषि क्याम्पस निर्माणका लागि चितवनको भरतपुर कृषि क्याम्पससँग आवश्यक पहल गरिरहेको छु ।

५ :  पूर्वाधार विकासका योजना के छन् ?

पूर्वाधार विकासका लागि नगर क्षेत्रभित्र रहेका ग्रामिण कृषि सडकहरुको स्तरोेन्ती गरिने छ । नगरका विकट वस्तीहरुमा सहज आवागमनका लागि सडक नपुगेका वस्तीहरुमा सडक सञ्जाल विस्तारको योजनामा छु ।यस्तै, ग्रामिण विद्युतिकरणका लागि संघ तथा प्रदेश सरकारसँगको समन्वयमा ३३ केभि विद्युत प्रशारण लाईन निर्माणमा पहल गर्ने लक्ष्य राखेको छु । सिंचाई सुविधाका लागि हाल सञ्चालन रहेका आयोजनालाई थप सुधार गर्दै सिंचाई सुविधा नपुगेका क्षेत्रहरुमा पक्की संरचना निर्माणमा ध्यान केन्द्रित गरिरहेको छु । यस्तै विभिन्न सामुदायिक भवन, विद्यालय, स्वास्थ्य संस्थाहरुको पूर्वाधार विकासका लागि भवनहरु निर्माण मेरो कार्यकालमा हुनेछन् ।

तपाईको प्रतिक्रिया