अतिविपन्न बालबालिकालाई स्कुल ड्रेस

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ का अतिविपन्न परिवारका बालबालिकाहरुलाई स्कुल ड्रेस सहयोग गरिएको छ । वीरेन्द्रनगर–१ को बालन शिक्षा मोन्टेश्वरी तथा चाईल्ड केयर सेन्टरमा अध्ययनरत १० जना बालबालिकाहरुलाई स्कुल ड्रेस प्रदान गरिएको हो ।

समाजसेवी सन्तोषी शाही ठकुरीको सहयोगमा मोन्टेश्वरीले बालबालिकाहरुलाई टाइ बेल्डसहित स्कुल ड्रेस वितरण गरिएको हो । मनोसामाजिक विमर्शकर्ता समेत रहेकी शाहीले ३० हजार बराबरको स्कुल ड्रेस बालबालिकालाई सहयोग गरेकी हुन् ।

‘मिस ब्युटी क्वीन नेपाल २०२०’ को विजेता समेत रहेकी शाहीको सहयोगमा आर्थिक अवस्था कमजोर रहेका अभिभावक विहिन १० जना बालबालिकाहरुलाई दुई÷दुई जोर स्कुल ड्रेस वितरण गरिएको मोन्टेश्वरीका प्रिन्सीपल रचना सुनारले जानकारी दिइन् । शाही लामो समयदेखि महिला अधिकारको क्षेत्रमा क्रियाशिल छिन् ।

स्कुल ड्रेस पाएका बालबालिकाहरु मोन्टेश्वरीमा पूर्ण छात्रबृतिमा अध्ययन गरिरहेका छन् । बुधवार स्कुल ड्रेस पाएका ती बालबालिकाहरुले खुसी व्यक्त गरे । पूर्ण छात्रबृतिमा अध्ययनरत ती बालबालिकाहरुलाई यसअघि झोला, कापी किताब लगाएतका शैक्षिक सामग्री उपलब्ध गराईएको थियो । यस शैक्षिक सत्रमा मोन्टेश्वरीले १८ जना बालबालिकालाई पूर्ण छात्रबृतिमा पढाउने गरी भर्ना लिएको प्रिन्सीपल सुनारले बताइन् ।

अभिभावक विहिन, एकल अभिभावक तथा आर्थिक अवस्था कमजोर भएका दैनिक ज्यालामजदुरी गरेर जीवन निर्वाह गरिरहेका परिवारका बालबालिकाहरुलाई मोन्टेश्वरी निशुल्क शिक्षा दिईरहेको छ । त्यस्ता बालबालिकाहरुलाई उच्च शिक्षासम्मको अध्यननका लागि सहयोग पु¥याउने मोन्टेश्वरीको लक्ष्य रहेको प्रिन्सीपल सुनारको भनाई छ । ‘अतिविपन्न, सिमान्तकृत तथा जोखिममा रहेका बालबालिकालाई गुणस्तरिय र निशुल्क शिक्षा प्रदान गर्ने मोन्टेश्वरीको मुख्य उदेश्य हो,’ प्रिन्सीपल सुनारले भनिन् ।

तपाईको प्रतिक्रिया