सुर्खेत । सचिन बडुवालको परिचय बिस्तारै फेरिँदै गएको छ । २०५२ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सुरु गरेको जनयुद्धमा बन्दुकबाटै परिवर्तन ल्याउँछु भनेर युद्धमा होमिएका बडुवाल वैशाख पहिलो सातासम्म होटल व्यवसायी र रिक्सा चालकका रूपमा चिनिन्थे ।
तर, अहिले उनको परिचय र भूमिका फेरिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाच २०७९ मा उनी बराहताल गाउँपालिका वडा नम्बर ४ को वडा सदस्यमा निर्वाचित भए । माओवादी केन्द्रबाट वडा सदस्य बनेका बडुवाल अन्तत: जिल्ला समन्वय समिति सुर्खेतको उपप्रमुखमा निर्वाचित भएर काम गरिरहेका छन् ।
लामो समय पार्टी राजनीतिमा संलग्न बडुवालको खासै चर्चा थिएन । उनलाई आममानिसले नेताभन्दा पनि होटल व्यवसायी र रिक्साचालक भनेर चिन्थे । जब जिल्ला समन्वय समितिको उपप्रमुखमा बडुवालको मनोनयन दर्ता भयाे, एकाएक चर्चा चुलियाे ।
२०३७ सालमा दैलेखको आठबिस नगरपालिकामा जन्मिएका बडुवालले कक्षा ८ सम्म मात्रै औपचारिक अध्ययन गरेका छन् । उनी सानो छँदै सुर्खेतको पश्चिम बराहताल गाउँपालिका वडा नम्बर ४ मा बसाइ सरी आएका थिए । उनले तत्कालीन माओवादीले सुरु गरेकाे सशस्त्र द्वन्द्वमा लडाकु बनेर काम गरेका थिए । लडाकु बनेर युद्ध अनुभव बटुलेका उनलाई पार्टीले अहिले जिल्ला समन्वय समितिकाे उपप्रमुखको जिम्मेवारीमा पुर्याएकाे छ ।
लडाकुदेखि समन्वय समिति उपप्रमुख पदसम्म आइपुग्दा बडुवालले पार्टीका विभिन्न भूमिकामा रहेर पनि काम गरेका छन् । भेरी माध्यमिक विद्यालय तरंगामा तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठनको अध्यक्ष बनेपश्चात् उनको राजनीतिक यात्रा सुरु भएकाे हाे ।
२०५३ सालमा युद्धमा होमिएर २०५६ सालमा पूर्णकालीन माओवादी कार्यकर्ता बनेका बडुवाल जनमुक्ति सेनाको कम्पनी कमाण्डरसम्म बने । युद्धकै दौरानमा दैलेखकी डिला भण्डारीसँग उनकाे जनवादी विवाह भयाे । दैलेखको नौमुलेमा राज्यपक्षले गरेकाे सुरक्षा कारबाहीमा भण्डारीकाे ज्यान गुम्याे ।
भिडन्तमा श्रीमती मारिएपछि दाेस्राे विवाह गरेका उनका दुई छोरा जन्मिए । परिवारकाे कमजाेर आर्थिक हैसियतका कारण २०६१ सालमा युद्धको मोर्चा छोडेर घर फर्किएका उनी राेजगारीका लागि भारत हानिए ।
भारतमा केही वर्ष काम गरेर घर फर्किएका बडुवाल २०६७ सालमा वीरेन्द्रनगर आए । यहाँ उनले सचिन होटल एण्ड लज नामक होटल सञ्चालन गरेका छन् । बडुवालले विगत ३ वर्षदेखि अटो रिक्सासमेत चलाइरहेका छन् ।
लडाकु बनेका बखत उनकाे शरीरमा छिरेका बमका छर्रा अझै निस्केका छैनन् । कमजोर आर्थिक स्थितिकै कारण शरीरमा रहेका बमका छर्रा निकाल्न नसकेकाे उनी बताउँछन् । उनी युद्ध लडेर आएकाे पार्टीसँग सन्तुष्ट छैनन् ।
‘व्यवस्था बदल्नुपर्छ भन्ने सपना बोकेर सर्वहारा जनताको पक्षमा युद्ध लडियो’, उनी भन्छन्, ‘तर, पार्टी सरकारमा पुगेपछि भने सही बाटाेमा हिँड्न सकेन । कहिलेकाहीँ त व्यर्थै बन्दुक बाेकिएछजस्ताे लाग्छ ।’
आफूसँगै युद्धमा होमिएका सहकर्मीहरू राज्यका माथिल्ला तहमा पुग्दा पार्टीले आफूलाई कुनै अवसर नदिएको बताउँदै आएका उनी अहिले समन्वय समितिकाे उपप्रमुख बन्दा भने खुसी छन् । ‘पार्टीमा इमानदार भएर लागिरहे अवसर नपाइने पनि हैन रहेछ’, उनी भन्छन् ।
नेपालीरैबार । २०७९ श्रावण ४, बुधबार