सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीति दुईवटा बाटोमा रहेको बताएका छन् । शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमालेद्धारा आयोजित कार्यक्रममा नेपालको राजनीति दुईवटा बाटोमा रहेको बताएका हुन् ।
उनले भने, ‘नेपालको राजनीति दुईवटा बाटोमा भनेको एउटा केपी ओलीले अघि सारेको बाटो र अर्को शेरबहादुर देउवाले अघि सारेको बाटो हो । त्यसमा जनताको बहुदलिय जनवादको बाटो नै उपयुक्त हो । प्रचण्ड–माधव त देउवाकै बाटोमा छन् ।’
नेपालमा एमाले बाहेक अन्य दलहरु बास्तविक लोकतन्त्रवादी नभएको टिप्पणी गरेका छन् । उनले यदी नेपालमा बास्तविक लोकतन्त्रवादी छन् भने त्यीँ एमालेहरु मात्रै भएको बताएका हुन् । उनले भने, ‘हिजो प्रचण्ड र माधव नेपालले एमाले विभाजन गरेपनि जनताको नेतृत्व गर्न नसक्ने समयले पुष्टि गरिसकेको छ ।’
साथै उनले माधव नेपाल र प्रचण्डलाई कम्युनिष्ट आन्दोलनमा गद्दारहरु भएको टिप्पणी समेत गर्न भ्याए । उनले प्रचण्डको बारेमा बोल्दै भने,‘ ०४५ सालदेखि माओवादीको नेतृत्व गरिरहेका प्रचण्डलाई अहिलेसम्म आफ्नो ठाउँमा पुग्ने हाराहारीमा पार्टीभित्र नेता जन्मिएको छैन् भन्नुहुन्छ। त्यो उहाँको भ्रमपुर्ण तर्क हो।’
उनले माधव नेपाललाई आदर्शका गफ दिने व्यक्तिको रुपमा चित्रित गरे।
साथै उनले देउवाको बाटोमा हिँडेर प्रचण्ड माधव नेपालले गद्दारी गरिरहेको बताए । साथै उनले एमालेको नेतृत्व माथि आक्रमण भइरहेको र केपी शर्मा ओलीले विघटन गरेको संसदको बचाउ गरे ।
नेपालीरैबार । २०७९ श्रावण ७, शनिबार