बेखबर प्रेमी-प्रेमिकाको साउन पहिलो हप्ता

साउन १

ए अँ साच्ची साउन महिना पनि लागे छ । आज त तिमी हातभरी हरिया चुरा अनि मेहन्दिले रंगाउँदै छौ होला । नजिकैका दिदीबहिनी दिउँसो जम्मा भएर चरी जस्तै बुट्टाले हात रंगाउदै सजिने योजना पनि छन होला । थाहानै नदिएर एका बिहानै मन्दिरसम्म पनि पुगिछौँ । भगवान सामु के–के माग्यौ मलाई पनि सुनाउन है । म पनि तिम्रो त्यो मागलाइ पूरा गरिदिनका लागि भगवानसँग प्रस्ताव राखिदिनेछु । आफ्नो मनलाई सन्तुष्टि दिलाउँन कति जानेकि तिमी । कति तिम्रो भगवानसँग मात्र माग्छौँ कहिले काहीँ त मसँग पनि केही मागे हुने, म मनमनै सोचिरहेको थिएँ ।

मैले देखेको, हरेकले आफ्नो–आफ्नो मान्छेको नाममा मेहेन्दिले हात भरी नाम लेखेको । मलाई थाहा छ तिमीलाइ पनि मेरै नामले हातभरी रङ्याउने रहर आउँछ होला । म बुझ्छु नि तिमीले मेरै नाम हातमा लेखी रहनु आवश्यक छैन् । त्यसैमा दुनियाँले डाहा गर्छ हामी लाई देखेर । त्यो तिम्रो हातको मेरो नाम देखेर । तिमी पनि रस युक्त जोवन त्यसैमा चपलवयसी छौँ ।

नजर वाण घुमाउँने हरुको कमि छैन दुनियाँमा । त्यसैमा तिम्रो त्यो लजालु स्वभाव र परिवारको संस्कारलाइ सम्मान गर्नकै लागिभए पनी तिमीले त्यस्तो गर्दैनौ होला । हाम्रो समाजले पनि त अविवाहित नारीलाई सबै छुट दिएको पनि त छैन नि, केही छैन मान्यतालाई मन्नुपर्छ । आशा छ मनमा, तिमीले मेहेन्दिले हातमा हैन् नमेटिने रगतले मनमा स्थायी रुपमा नाम लेख्नेछौ भनेर ।

देखावटी प्रवृद्धीलाई नक्कलगरि हातमा नाम लेख्ने तर, क्षणमै सम्बन्धलाई ब्रेक गर्ने हरुलाई प्रहार तिमीले गर्नेछौँ । आफ्नो संस्कार आफ्नो परिवार नैतिकता र आफु माथी उठ्न सक्ने प्रश्नलाई बुझ्ने छौँ । लाउनु, खानु र मोजमस्ती गर्नुमात्र जीवन हैन् भन्ने तिमीलाइ राम्रैसँग थाहा भएको कुरा हो । जो मैले तिमीबाट सिक्ने अवसर पाएको थिएँ । यसको मतलब जीवनमा दुख नै काट्नपर्छ, नराम्रो नै हुनपर्छ भन्ने हैन् । आफुले कतिसम्म गर्दा ठिक हुन्छ भन्ने कुरामा ध्यान दिनपर्छ । भोगवादी जीवन आजीवन टिकाउँ हुन सक्दैन् ।

विलासी ज्यादा हुनु पनि स्वभानीय हुदैन् । भनिन्छ नि गरिव परिवर्तन भएर धनी बन्न सक्छ तर, दरिद्र जनिनै धनीभए पनी दरिद्र नै हुन्छ । तिम्रो लाइन, खाइन र तिम्रो स्वभाव केवल तिमीसँग मात्र जोडिएको हुदैन । त्यो त तिम्रो परिवार, तिम्रो आफन्त तिम्रा गुरु तथा तिम्रा मित्रहरूसमेत चित्र देखिने हुन्छ । त्यो सबै कुरा तिम्रो परिवारबाट तिमिले सिकिसकेकी छाैँ ।

तिमी परिवारमा कसैको छोरी कसैको बुहारीको रुपमा मात्र सिमित हुने छैनौं । परिवारलाई लक्ष्मीको आभास तिमी दिने छौ र समाजमा एक ३२ लक्षिनले भरिपूर्ण नारीको रूपमा परिचित हुनेछाैँ। तिम्रो परिवार पनि छोरिको आचरण र स्वभाव असल होस भन्ने चाहेर अनेक ज्ञान गुणका कुरा सिकाउनु हुन्छ होला । आदर्श नारिको ज्ञानको तिमीलाई तिम्रो परिवारमा अभाव छ जस्तो मलाइ लाग्दैन । त्यसैले आफ्नै कारणले आफ्नो जीवनसँग सम्बन्ध जोडिएका हरुको इज्जतलाई बचाउन पनि तडक–भडक स्वभाव देखाउने छैनौं ।

अब त तिम्रा मनका मनकामना पूरा होउन भनि विभिन्न तिथि पार्दै व्रत बस्ने पनि गर्ने होला होइन ? भोकै बस्ने दुख काट्ने भन्दा आफ्नो स्वास्थयको अहिले ख्याल गर्नेछौ । भविष्यलाई सम्झेर अहिले दुख काट्ने काम नगरेकै राम्रो हुन्छ । व्रतले नै मान्छेले सोचेको पुग्ने भन्ने त्यो मनको लड्डु घ्यूसँग खानु जस्तो मात्रै हो । देखेकै छौ होला केही उदाहरण ।

व्रतको नाममा पानी समेत नखाएर बसेका तिनै नारीहरुले कतिसम्मको पीडा खप्नुपर्ने बाध्याता छ भन्ने कुरा । दसकौँसम्म व्रत बसेका महिला दिदीबहिनीले पनि विभिन्न दुव्र्यवहार र अपमानका घटना तिमी हाम्रो समाजमा कम छैनन् । त्यसैले म त भन्छु, तिम्रो त्यो व्रत भन्दा तिमीले गरेका हरेक कामले तिम्रो भाग्य र भविष्यको निर्धारण हुन्छ ।

समयलाइ बुझेर त्यसैअनुसार अघि बढ्यौ र आफ्नो कर्मलाई नबिर्सेर सच्चा नारिको रुपमा देखियौ भने तिम्रो त्यो व्रत भन्दा ठूलो उपलब्धि त्यहि हुनेछ मायाँ । आदर्श देखाउनकै लागि हातमा चुरा मेहेन्दी र सारीमा सजिने, त्यसैको केही समयमा च्यातिएका बस्त्र पहिरिँदै पश्चिमी संस्कृती अनुसरण गरेको खासै सार्थकता हुदैन् । पुरानै झुत्रे कपडा होस तर, त्यो सबैले स्वीकार गर्ने होस् ।

म पनि त्यस्तै चाहान्छु । मसँग जोडिएको मान्छे जो तिमी जस्तै होस् । समाज र परिवारको इज्जत गर्न सकोस् । आफ्नो इज्जत र अस्मितालाई जोगाउन सिकयोस् र सिकायोस् । सानालाई माया गरोस ठुलालाइ सम्मान गर्न सकयोस् । आफ्नो जिम्मेवारी र कर्तव्य केहो राम्रोसँग बुझयोस् । जस्तो सुकै परिस्थितिमा पनि सम्हालिएर अघि बढ्ने प्रेरणा मलाई देओस् ।

मानिस जन्मेको समयदेखि नमरुन्जेल सिकाइकै क्रममा हुने गर्छ । म तिमिलाइ चाहान्छु आफुमा भएका कुरा ज्ञान मलाइ सेयर गर्ने र नजानेको कुरा सोधुन भनेर । जसरी रथ एक पाङ्ग्राले हिँड्न सक्दैन त्यस्तै मेरो जीवनको एउटा पाङ्ग्राको रुपमा तिमी हुने छौ । जीवनका जोडिएका हरेक यात्राहरु तिम्रो र मेरो सहयात्रा भावनात्मक र व्यावहारिक रुपमा रचनात्मक हुने छन् ।

तिम्रा ती डोला–डोला हातहरुलाई रंगीविरंगी बानाएर हरियो वस्त्रमा सजिदै म सँग–सँगै भएको कल्पना पनि गर्नेछाैँ । तिम्रा साथिहरुको जोडिलाई तिमी र मसँग तुलना पनि गर्ने छौ । अनि मख्ख पर्दै आफ्नो मनसँग लज्जितहुँदै मेरा अनेक उपनाम जोडेर मस्किने छौ । यो त मेरो कल्पना हो सानी तिमीले म प्रती गर्ने माया को कल्पना गर्दा तिमीले यतिसम्म गर्न सक्दिनौ होला भनेर म कल्पना पनि गर्न सक्दैन् । ठिकै छ सानी जे भएपनी आज साउन १ गते आफ्नो मनलाइ आनन्दित बनाउने मनमा कल्पना र भावनाका महल निर्माण गर्ने दिन । तिमी पनि हाम्रो जीवनको सपना बनाउदै आफ्नो मनलाइ खुसी बनाउँ । सम्पुर्ण नारीलाई साथै स्पेसल त मेरो माया तिमिलाइ शुभकामना दिन चाहान्छु ।

सोमबार

साउन महिनाको पहिलो सोमबार एका बिहानै मेरो सानिले मामु बाहिर गएको अवसर परि कल गरिन् । उनिले १ गते भएका सम्पूर्ण गतिविधि सुनाइन् । म पनि उनका कुरा सुनेर आनन्द लिँदै अनि के भयो ? भन्दै सोध्दै थिएँ । साउन महिनामा हातमा मेहेन्दी लगायो हरियो वस्त्र लगायो भने सोचेको पुग्ने र आफ्नो पतिको आयु समेत लामो हुन्छ रे भन्दै उनले सुनाइन् ।

यति सुन्दा मलाइ स्वर्गीय आनन्दको अनुभुती मलाई भयो । मेरो जन्म दिने आमालाई सम्झिए मेरो बाबालाई सम्झिए । मलाई यस समयसम्म पु¥याउने मेरो भगवान मेरो बाबा-आमा र मेरो बाँकी जीवनको आयु बढाउने भगवान मेरि सानी भन्दै मनमनै कल्पना गरे र उनलाइ सुनाएँ ।

उनले पनि मस्कदै भनिन्, ‘हो नि सबै भन्दा ठूलो भगवान भने पनि जे भनेपनी आफ्नो आमा-बाबा मात्र हो ।’ यसैमा उनले थपिन्, ‘यदि म नभए म जस्तै अरु त कति पाउनुहुन्छ कति तर, बाबा÷मामु नभएको भए के हुन्थ्यो सोच्नुस त !’ भन्दै मलिन् स्वरमा आफ्ना शव्दहरू सुनाईन् । मलाई लाग्थ्यो उनलाई मैले केहीँ कुरा सिकाउनु पर्छ जस्तो तर, सिकाउन बाँकी केही नभएको मैले महसुश गरे । उनको त्यो आमा÷बुबाप्रतिको सद्भाव देख्दा साच्चिकै लक्ष्मीनै उनी हुन् जस्तो लाग्यो । मैले खोजेको साथी पनि उनी जस्तै थिइन् र आखिरमा उनि नै होलिन् पनि ।

जसले सम्बन्ध बुझ्छ, परिवार बुझ्छ, जसले जीवन बुझ्छ, जसले आमा बाबाको आदर सम्मान गर्छ, जसले समाजका राम्रा पक्षलाइ जोगाउन र नराम्रा कुरालाइ सुधार्न चाहान्छ त्यस्तो आदर्श नारी मेरो जीवन साथी हुनुपर्छ भन्ने म सोच्दथे । उनी त मैले सोचेको भन्दा पनि बढी भएको मैले पाएँ । हामीबिच यस्तै कुरा हुँदै थियो । म पनि डाँडाको छेउँमा लुकेर कुरा गर्दै थिए । उनको आमा आउनु भएछ ।

कुराकानी त्यतिकैमा अन्त्य भयो । त्यसपछि म पनि बाबा-आमालाई सहयोग गर्न निस्के । सबै कुरा भएको थियो । तर, आज त उनले सोमबारको व्रत बस्ने भन्ने कुरा नै सुनाएकी थिइन् यतिकैमा हाम्रो कुरा रोकिसकेको थियो । मैले उनीसँग बिताएका विगतका पल सम्झिएँ । तिनै पललाइ भविष्यसँग तुलना गर्दै दिन बिताए । मेरो त्यो दिन कल्पनामा नै बित्यो ।

मंगलबार

तिम्रोे बहिनीले तिम्रो त्यो हातको अनेक रंगिचंगी मेरो म्यासेन्जरमा सेण्ड गरिन् । मैले लगाएको दिदिको हातमा । मलाई राम्रो बुट्टा लगाउन आउँछ । उनले आफ्नो सिपको बयानको लागि तिम्रो हातको फोटो पठाएकी रहिछन् । मलाई तिम्रो फोटो कसरी माग्ने निहुँ चाहिएको थियो । मैले केहि कुरा गर्न नपरी फोटो पाएपछि खुसिको कुनै सिमा रहेन । मैले हतार–हतारले हेरे ।

आँखा वरिपरि तिम्रै तस्वीर घुम्यो । मैले तिमिलाइ सम्झिएँ । मग्नमस्त थिएँ तो चेहेरा हेरेर । प्यारी सानी मैले तिमीलाई यतिसम्म प्रेम भाव प्रस्तुत गर्छयौ भन्ने ठानेको पनि थिएन् । साच्चिकै तिम्रो त्यो कोमल डोला, बाटुला हातका नाडीदेखि तिम्रा प्रत्येक औलामा विभिन्न संकेतले भरिएका बुट्टा देख्दा मख्ख भएँ । नजिकै बसेको भए त्यो हातको बुट्टालाइ मेरो आफ्नै हातले स्पर्श गर्दै मेहेन्दी लगाइदिन पाएको भएँ सानिलाई कति माया दिन पाउथे होला भन्ने सोचेँ ।

तिम्रो बहिनीले तिम्रो र आफ्ना मंगलबारे व्रतका अनेक कहानी सुनाइन । त्यो सुन्दा तिमीसँग एक पटक कुरा गर्ने सोच बनाएँ । तर, कल गर्न सकिन् । यसो भन्दा तिमिलाइ नराम्रो लाग्न सक्छ । कारण के थियो भने आज भन्दा पहिले पनि तिम्रो बहिनीलाई नै कुरा गराइदेउँ भनेर भनेपछि मात्र कुरा हुन्थ्यो । फेरि तिम्रो बहिनीलाई त्यो कुरा थाहा थिएन कि तिमी र म पेम–प्रेमिका हो भन्ने ।

त्यसैले म यो कुरालाई केही समय गोप्य नै राख्न चाहान्थ्येँ । थाहा भएपछि तिमिलाई तिम्रो र मलाई मेरो परिवारबाट चुनौती खेप्नुपर्ने मैले बुझेको थिएँ । हाम्रो पढाई पनि अधुरै छ । म २१ उनी १८ वर्ष उमेर मात्रका थियौँ । अनि हामी पनि त्यति साह्रो सम्बन्धमा बस्ने र बिहे गर्ने उमेरका पनि त थिएनौं । म हाम्रो सम्बन्धलाई यस्तो सावित गर्न चाहान्थेँ कि यहाँ जोडिने सम्बन्ध गलत नै हुन्छन् भन्ने सोचाइ मेटाउन सकुँ । तर, यो त्यति सजिलो थिएन् ।

जुन हाम्रो समाजले पहिलेदेखि नै अस्वीकार गर्दै अएको थियो । हामी आफ्ना मनका भावना र मायालाई मेटाउदा हाम्रो परिवारको इज्जतलाई ख्याल गर्नुपर्ने तिमी पनि बुझ्छौ । तिम्रा गतिविधिको बारे कसैलाइ चालै नहुने गरि म तिम्रो बहिनीसँग सोधपुछ गर्थे । जे भए पनि तिमिले हिजोको सोमबारको दिनको व्रतलाई आनन्द तरिकाले बितायाैँ भन्ने सुन्दा मैले जस्तो भएता पनि खुसीको अनुभुती गरेँ । मेरो पनि एक वर्ष उमेर बढेको जस्तो मनमनै खुसी महसुस गरेँ ।

बुधबार र बिहीबार

मेरो परिवेश ग्रामीण थियो । अनि उनको चाँही शहरमा घर थियो । त्यतै बस्ने, पढ्ने मात्र काम उनको थियो । गाउँमा वर्षाको खेतिपातिको सिजन चलेको थियो । दिनहुँ जसो मेला पर्वमा जानुपर्ने बाध्यता जस्तो थियो । यिनै दुई दिन हाम्रो आफ्नै घरको रोपाइँ गर्ने तयारिका साथ सबै परिवार जुटेका थियौँ । झमझम मुसलधारे पानी परिरहेकै थियो ।

म कोदाली समातेर मेलातर्फ लागेँ साथमा गाउँको एक जना दाई पनि म सँग–सँगै जानु भयो । मेला पुग्न लगभग आधा घण्टा जति समय लाग्थ्यो । त्यो समय दाईले आफ्नो प्रेमिकाले आफ्नै नामको मेहेन्दी लगाएको अनि हरियो सारीमा सझिँएको तस्वीर देखाउदै भन्नुभयो । ‘मलाई धेरै मायाँ गर्छु भन्छे मलाई पनि ठिकै लागेको छ । गाँउको केटि हो । मेलापात पनि गरिहाल्छेँ । सुख दुःख पनि बुझ्ने खालकी छ ।’ यति भन्दा मैले मेरि सानीलाई सम्झे उनी त शहरमा बसेकी घर परिवारको प्यारो छोरी परिवारमा फुर्किएर हुर्केकी के गर्ने होलिन भन्ने सोचे ।

जे भए पनी उनी मेरो लागि उपयुक्त भएको मनले निश्चित गथ्र्याे र भन्यो ‘उ एक आदर्श नारी हो । उनि सम्पूर्ण गुण र ज्ञानले युक्त छिन ।’ यात्रामा सँगै गएको दाईले मलाई सोध्नु भयो तेरो के छ बाबू कस्ती छिन त हाम्री हुनेवाली बुहारी ? मलाई लाजको कुनै सिमा रहेन् । बोल्ने कुनै वाक्य आएन् केहीँ बेरपछि बोलेँ को हुनु र मेरो विहे गर्ने उमेर भएकै छैन् दाई पनि के कुरा गर्नुहुन्छ, केहि वर्ष लागिहाल्छ नि अझैँ ।

मेलामा पुगिसक्यौँ । सबै जना जम्मा भएर कामको तयारी गर्दै कुरा गर्न थाले । महिलाहरूको लागि साउनको महिना अच्चमकै हुने रहेछ । एकले अर्काको, अर्काले अर्काको केटा र केटीको जोडी भन्दै कुरा गर्न ठिक्क हुने रहेछ । म नजिकै काम गर्दै सुन्दै थिएँ । सबैका कुरा सक्किएपछी मेरा कुरा गर्न समेतपछि परेनन् । भन्न थाले आज बुहारी भएको भएत रमाइलो हुन्थ्यो त घरको रोपाइँ नानाथरी कुराले गिज्याउँन थालेँ । म भने मेरी सानिलाई सम्झिदै थिएँ ।

कति–कति बेला सोच्थे उ पनि यतै छ कि भन्ने लाग्थ्यो र फर्केर हेथेँ । मनमा न्यास्रो अनुभुती हुन्थ्यो बेला–बेला । बादल र कुहिरोले दिन पनि रात जस्तै अँध्यारो थियो । ठूलो झरीका कारण खोलानालाको आवाजले विभिन्न आवाजमा ताल मिलाएर सुसाइँ रहेका थिए । त्यही विभिन्न आवाजमा म आफू हराएको पत्तै पाँउथेन । कतिबेला उनको आवज आएर कानमा ठोकिने हो भन्ने सोच्दथ्ये ।

काममै भए पनी उनकै समिपमा अधीनस्थ थिएँ । रोपाइँमा आएका रोपार आमा र दिदीहरुले सुरिलो भाकामा असारे गीत गाउँदाको त्यो पल साँच्चिकै स्वर्गीय आनन्द प्रदान गर्ने क्षमता बोकेको थियो । त्यसैमा मेरी सानिले पनि सँगै आवाज दिएको भए झन कति सुनमा सुगन्ध मिसिए जस्तो हुने थियो । यिनै रोचक परिवेशमा म आफ्नो अदृश्य मायालाई कल्पना गर्दै त्यो बादल पारीको एकान्तमा भएको कल्पना गर्थें ।

त्यसमा केवल हामी दुई मात्र उपस्थिति रहेको हुन्थ्योँ । सुनसान र एकान्त अनुभुती दिन्थ्यो त्यो बादलको पर्खालले । त्यो बस्तीको तृणमय भूमिमा लट्पटिदै लुकामारी खेलेको कल्पनाले बेला–बेला मेरो मस्तिष्क चार्जगर्ने काम गरेको थियो । यस्त–यस्तै रमाईला कल्पना र गफगाफसँगै त्यो दिनको काम पनि सकियो ।

शुक्रबार

कुरा रमाइलो चलिरहेको थियो आफ्नै जीवनको । कतिबेला भावुक त कतिबेला वास्तविक घटना जसरी । अनौठा–अनौठा कल्पनाका ज्वारहरु वास्तविक भोगाइकै रुपमा सिल–सिलावद्ध तरिकाले गाँसिरहेका थिए । मनमा आनन्द को अनुभुती जस्तो महसुश गर्न पाएको थिएँ । यी सबै मेरो जीवनका वास्तविक घटना त थिएन् दवास्वप्ना मात्र थिए ।

साउनको महिनामा नारीहरुले शिव जस्तो पति (श्रीमान) पाउन र आयु बढ्योस् भन्दै व्रत बस्ने परम्परा हाम्रो समाजमा पहिले देखिनै चल्दै आएका विभिन्न प्रचलन मध्ये एक थियो । मेरो सानी पनि साउन महिनालाई राम्रोसँग मनाउने तयारिमै छिन होला । उनलाई पनि त मलाई पाउनुछ उनको शिव भने पनि राम भनेपनी म नै त होला । म उनलाई नै सम्झदै मनगड्न्ते कुरा गर्दै बसिरहेँ । जे जस्तो भए पनि विगत केहीँ वर्ष यता तिमीसँग भेट हुन सकेकोे छैन् ।

तिमिलाई मेहेन्दी अनि हरियो चुरा किनिदिन पाएको छैन् । तिमीलाई बजार जाने अनि आफुलाइ मन पर्ने कपडा चुरा अनि मेहेन्दी किनेर लगाउने रहर छ होला । त्यसको लागि आवस्यक पर्ने पैसा छ छैन थाहा भएन् । नभएको भए बाबा-आमासँग अनुरोध गर । अन्य आवश्यक साथीहरुसँग व्यवस्था गर्ग लगाउँ । पछि फिर्ता गरिदिउँला । अझै २÷४ वर्ष भेट नहुन सक्छ । त्यतीबेलासम्म तिमी आफुलाई सम्हाल्दै आफु र आफ्नो परिवारको इज्जतलाई धानेर बस्ने छाैँ ।

मिठो माया अनि सम्झना को साथमा तिमीलाइ शुभकामना भन्न चाहान्छु । अन्तिममा नेपाली समाजमा साउन महिना मेहेन्दी हरियो बस्त्र र हरियो चुराको विशेष रहेको पाइन्छ । सम्पुर्ण आमा तथा दिदीबहिनीहरुको मनलाई चंगा जस्तै देख्न पाइन्छ । विभिन्न व्रत कथा र पुजा पाठमा तल्लिन भएको देख्न पाइन्छ ।

यस परिवेशमा हरेक नारीले व्रत बस्दा मेरो लागि पनि कोहि त व्रत बसेकी छिन् । होला कल्पना बन्न पुग्यो । मन पग्लियो । मनमा अनेक भावना खेल्न थाले । भावनालाई व्यक्त गर्नको लागि केही शब्दहरुको माला उन्ने प्रयास गरेँ । (लेखनको लागि हौशला, सल्लाह सुझाबका साथै आवश्यक पुनरावलोकन गरि सहयोग गर्नु भएकोमा दाजु योगेशकुमार रिजाल प्रती हार्दिक आभार प्रकट गर्न चाहान्छु ।)

(लेखक गौतम सुर्खेत बहुमुखी क्याम्पसमा वीएड चौथो वर्षमा अध्ययानरत छन् ।)

तपाईको प्रतिक्रिया