डीपीआर सकिएकाे भेरी पम्पिङ्ग आयाेजनाकाे टेन्डर गर्न अझै पाँच महिना लाग्ने

सुर्खेत । उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सुरु हुन लागेको भेरी पम्पिङ आयोजनाको टेन्डर हुन अझै पाँच महिना लाग्ने भएको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) गत वर्ष नै तयार भइसके पनि टेन्डर आगामी माघसम्म गरिसक्ने खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको हाे ।


डिपीआर तयार भए पनि इन्टेक (मुहान), वीरेन्द्रनगरसम्म ट्रान्समिसन लाइन र ट्रिटमेन्ट प्लान पुनः अध्ययन भइरहेको विभागका सिनियर डिभिजनल इन्जिनियर सुरत बमले बताए । उनका अनुसार वीरेन्द्रनगरमा सन् २०५० सम्म हुने जनसंख्यालाई मध्यनजर गर्दै भेरी पम्पिङको काम गरिनेछ । ‘आयोजना सकिनै ४/५ वर्ष त लाग्छ नै,’ उनले भने, ‘सन् २०५० सम्म वीरेन्द्रनगरको जनसंख्या यति पुग्न सक्ला भन्ने अनुमानसहित आयोजनाको काम हुनेछ, अहिले आयोजनाको वातावरणीय तथा सामाजिक अध्ययन भइरहेको छ ।’ सिडिई बमले आयोजनाको कन्ट्र्याक्ट मोडालिटी पनि तयार भइरहेको बताए ।

भेरीको पानी वीरेन्द्रनगर ल्याउने लिफ्ट खानेपानी आयोजनाका लागि गत वर्ष फागुन १३ गते तीनै तहका सरकारबीच सम्झौता पनि भइसकेको छ । आयोजना निर्माणमा विश्व वैंकले पनि लगानी गर्नेछ । उक्त अनुदानबाट संघीय सरकारले ८० प्रतिशत दिने छ भने प्रदेश र स्थानीय सरकारको २० प्रतिशत उपभोक्ताको लागत सहभागितामा आयोजना निर्माण गर्ने सम्झौता भएको विभागका सिडिई बमले बताए । उनका अनुसार आयोजनाका लागि के कति लागत लाग्ने भन्ने बारे तीन महिनाभित्र स्टिमेट तयार गरिनेछ । ‘६ अर्ब लागत लाग्ने भनिएको छ तर यो लागत प्रारम्भिक अनुमान मात्रै गरिएको हो,’ उनले भने, ‘लागतबारे अन्तिम जानकारी टेन्डर हुनुभन्दा दुई महिना अगाडिसम्म आउनेछ ।’

पहिलो चरणमा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृत डाँडामा रिजर्भ ट्यांकी स्थापना गर्ने, अमृत डाडाँदेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारणलाइन विस्तार गरिने तथा फोर लेन सडकको दुवैतर्फ पनि प्रसारणलाइन विस्तार हुने सिडीइ बमको भनाइ छ ।

दोस्रो चरणमा वितरण प्रणाली तथा डिस्ट्रिक मिटर्ड एरिया (डीएमए) को बाँकी काम हुनेछ । दोस्रो चरणका लागि कम्तीमा पनि तीन अर्ब लाग्ने प्रारम्भिक अध्ययन छ । भेरीको पानी ३/४ सय मिटर माथि प्रशोधन गर्ने ट्यांकी (ट्रिटमेन्ट प्लान) मा खसालेपछि त्यसबाट वीरेन्द्रनगरको अमृतडाँडासम्म करिब ७ किलोमिटर लामो पाइप बिछ्याइनेछ । ५ सय ५० मिलिमिटर वा योभन्दा बढी आकारको पाइप अमृतडाँडामा राखिनेछ भने त्यसलाई मुख्य ट्यांकीसम्म जडान गरिनेछ । उक्त डाँडामा बनाइने ट्यांकी १२ हजार घनमिटरको हुनेछ ।

भेरी पम्पिङ आयोजनाका लागि यसअघि संघीय सरकारले आर्थिक वर्ष ०७५/०७६ मा २ करोड र गत आवमा ६ करोड बजेट छुट्यायो । तर काम हुन नसक्दा बजेट फ्रिज भयो । प्रदेश सरकारले पनि आव ०७६/७७ मा यही आयोजनाका लागि ५० करोड रुपैयाँ छुट्याएको थियो । तर काम हुन नसक्दा उक्त बजेट पनि फ्रिज भयो । गत आवमा पनि कर्णाली सरकारले ५ करोड बजेट विनियोजन गरेको थियो ।

उक्त बजेटबाट पनि काम हुन सकेन । प्रदेश सरकारले चालु आवमा फेरि ५ करोड बजेट छुट्याएको छ । सुर्खेत उपत्यका खानेपानी संस्थाका अनुसार हालको जनसंख्याका लागि प्रतिसेकेन्ड ३ सय २० लिटर पानी आवश्यक पर्छ । हाल आपूर्ति भने १ सय ५३ लिटर प्रतिसेकेन्ड भइरहेको छ । यही पानीको आपूर्ति पनि खडेरीको समयमा ५० प्रतिशत घट्ने गरेको छ । अहिले झुप्राखोला, खरी खोला, खोर्के खोला, इत्राम खोला र बुलबुलेबाट संस्थाले पानी वितरण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया