अछामको भुलुमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

सुर्खेत । अविरल वर्षासँगै घरमाथिबाट झरेको पहिरोका कारण एकै परिवारको तीन जनाको मृत्यु भएको छ । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा पहिरोले स्थानीय अमरबहादुर विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो ।

तस्वीर साैजन्य : उदयबहादुर विष्ट

मृत्यु हुनेमा २५ वर्षीय वीरेन्द्र विष्ट, १५ वर्षीय संविधान विष्ट र ४५ वर्षीय हरिकला विष्ट रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए । उनकाअनुसार अमरकी ६५ वर्षीया आमा नैना विष्टको भने जिवितै उद्धार गरिएको छ । घटना गएराती  १ बजेतिर भएकाे र प्रहरी घटनास्थलमा पुगिसकेकाे डाँगीले बताए । घाइतेको उद्धार गरेर स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । सुतिरहेकाहरु पहिरोमा पुरिएका हुन् । पहिरोमा पुरिएर ५–६ वटा चौपाया पनि मरेका छन् । घरधनी अमर विष्ट भने कामका सिलसिलामा साँफेबगर गएको उनले बताए ।

तपाईको प्रतिक्रिया