खुकुरी प्रहारबाट जाजरकोटका एक वडाध्यक्ष गम्भीर घाइते

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका-६ का वडाध्यक्ष डम्बरबहादुर महतारामाथि खुकुरी प्रहार भएको छ । सोमबार बिहान आफ्नै निवासमा रहेका वडाध्यक्षमाथि सोही वडाका अविनास नेपाली र टेकेन्द्र नेपालीले टाउकोमा खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । उनलाई कुटपिट पनि गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष निरौलाले घाइते वडाअध्यक्षको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको बताए । ‘वडाध्यक्षमामाथि कुटपिट र खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाइएको छ । उहाँ अहिले उपचारमा हुनुहुन्छ ।

घटनामा संलग्न दुईजनालाई खोजिरहेका छौं’, निरौलाले भने । उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए । गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले वडाअध्यक्षमाथिको आक्रमणको निन्दा गरेका छन् ।

‘जनताको कामप्रति लगाव राख्ने वडाअध्यक्षमाथि खुकुरी प्रहार भएको छ । यो घटना सामान्य होइन ’, उनले भने, ‘आक्रमणकारीलाई केही दिन अगाडि एउटा घटनामा गल्ती नगर्ने प्रतिबद्धतासहित कागज गराएर जिप्रकाबाट छुटाइ ल्याएको थिएँ । त्यहि व्यक्तिले फेरि आक्रमण गरेछ ।’

तपाईको प्रतिक्रिया