कर्णाली प्रदेश सभाबाट दुई विधेयक पारित

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठकमा दुईवटा विधेयक सर्वसम्मतिले पारित भएको छ। प्रदेशसभाको आज बसेको बैठकले ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश लोक सेवा आयोगका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको हो।

सभामुख राजबहादुर शाहीले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीलाई दुईवटै विधेयक समग्रमा पारितका लागि सभामा प्रस्ताव पेस गर्न अनुमति दिएसँगै बैठकले विधेयक पारित गरेको थियो।

उक्त बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले शहीद स्मृति भत्ता र घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको जीवन निर्वाह भत्ता दिने गरी काम अगाडि बढाएको बताए।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाही र नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले बैठकमा आफ्ना धारणा राखे। सभाको अर्को बैठक यही साउन १६ गते दिउँसो ३ बजे बस्ने जानकारी सभामुख शाहीले गरेका थिए।

तपाईको प्रतिक्रिया