बिउ उत्पादनमा सुर्खेत आत्मनिर्भर, ३९ जिल्लामा निर्यात

सहकारीबाट उत्पादित बिउ सबैभन्दा बढी झापा जिल्लामा निर्यात भइरहेको छ ।

सुर्खेत । स्थानीय स्तरमा तरकारी तथा खाद्य बालीको बिउ उपलब्ध नहुँदा पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका ७ का खड्कबहादुर खत्रीलाई १० वर्षअघि बिउ खरिद गर्न छिन्चु वा वीरेन्द्रनगर धाउनु पर्ने बाध्यता थियो ।

गाउँमै बिउ नपाउदा समय त खेर जान्थ्यो नै जान आउन लाग्ने खर्चसमेत दोब्बर हुन्थ्यो । उनले परम्परागत खेतीबाट परिवारलाई खान पुग्ने धान मात्रै उत्पादन गर्थे । तर, अहिले उनी धानको बिउमा आत्मनिर्भर मात्रै होइन वार्षिक लाखौ आम्दानीसमेत गरिरहेका छन् ।

उनले १० कठ्ठा जमिनमा हिउँदे र बर्खे गरी दुई सिजन भिण्डी र धान (सुख्खा चार) को बिउ उत्पादन गर्दै आएका छन् । ६ जना परिवार रहेको खत्रीको मुख्य आम्दानीको स्रोत अहिले बिउ उत्पादन बनेको छ ।

उनले वार्षिक रोग किरा र प्राकृतिक प्रकोपले असर नगरेको खण्डमा दुइदेखि तीन लाखसम्म आम्दानी गरिरहेका छन् । ‘पहिले बिउ सहजै पाइदैन्थ्यो, अहिले बिउमा आत्मनिर्भर भएका छौं, उत्पादित वस्तुको बजारीकरणको समस्या छैन ।

मूल्य पनि राम्रै पाएका छौं,’ उनले भने । गुर्भाकोट नगरपालिका ७ का लिलबहादुर थापाको कथा पनि खड्काको जस्तै छ । निर्वाहमुखी कृषि गर्दै आएका थापा पनि धान र मकैको बिउमा आत्मनिर्भर बनेका छन् ।

उनले आठ हेक्टर जमिनमा मकै, धान, गहँ, बदाम आदिको बिउ उत्पादन गर्दै आएका छन् । बिउबाटै वार्षिक दुईदेखि तीन लाखसम्म आम्दानी उनले गरिरहेका छन् । खड्का र खत्री मात्रै हैन गुर्भाकोट नगरपालिकाका १४ वडा, भेरीगंगा नगरपालिकाको २ वडा र सिम्ता गाउँपालिकाको १ वडाका करिव एक हजार ६ सय ४५ जना कृषकहरु बिउ उत्पादनमा आत्मनिर्भर बनेका छन् ।

बिउ उत्पादनमा नौं सय बढि महिलाको सहभागिता रहेको छ । जिल्लाको पूर्वी क्षेत्र साविक मैनतडा, मेहेलकुना, साहरे, दहचौर र घुमखहरे गाविसहरुमा २०५२ सालमा वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवम् विकास केन्द्र (सिप्रेड) ले विभिन्न कृषक समूह गठन गरी तरकारी तथा तरकारी बिउ उत्पादन कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

सिप्रेडले सञ्चालन गरेको कृषि कार्यक्रमको प्रेरणा तथा कार्यक्रमले ल्याएको परिवर्तनलाई स्थानीय स्तरमा संस्थागत गर्ने हेतुले संस्थाकै प्राविधिक सहयोगमा २०५८ मंसिर १५ गते डिभिजन सहकारी कार्यालय बाँकेमा विधिवत दर्ता भएर पवित्र जनकल्याण कृषक सहकारी संस्था स्थापना भएको थियो ।

संस्थाको मुख्य उद्देश्य भनेकै बिउ उत्पादन र कृषि पेशालाई व्यवसायिकरण गर्दै कृषकहरुको आर्थिक स्थिति सवल तुल्याउने हो । आजभन्दा करिव १० वर्षअघि स्थानीय स्तरमै बिउ उत्पादन गर्ने गरेको सहकारीले हाल आएर पवित्र बिउ उद्योग स्थापना गरी देशका करिव ३९ जिल्लामा विभिन्न १० प्रजातिका हिउँदे, १२ प्रजातिका वर्षे तरकारी र ६ प्रजातिका खाद्यान्न बालीको बिउ उत्पादन गरी निर्यात गरिरहेको छ ।

स्थानीय स्तरबाट सुरु भएको संस्थाको बिउ उत्पादनको यात्रा अहिले देशव्यापी बनेको छ । संस्थाले गत आर्थिक वर्षमा वार्षिक करिव तीन करोडभन्दा बढि आम्दानीसमेत गरेको छ । सहकारीबाट उत्पादित बिउ सबैभन्दा बढी झापा जिल्लामा निर्यात भइरहेको छ ।

किसानदेखि किसानसम्म भन्ने नीति लिएको संस्थाले विभिन्न ३८ वटा कृषक समूह बनाएर बिउ उत्पादन र बजारीकरण गर्दै आएको छ । संस्थाले कृषकलाई घाँस काट्ने मेसिन, हाते ट्याक्टर, स्प्रे मेसिन तथा प्लाष्टिक टनेल, जैविक विषादी आदिमा सहयोग प्रदान गरेको छ ।

संस्थाले कृषक समूहमार्फत नौं सय महिला कृषकलाई एक सिजनमा ४५ हजारदेखि ७० हजारसम्म आम्दानी दिन सफल भएको छ । एक सय तीनजना कृषकहरुले वार्षिक ७५ हजारदेखि एक लाख ४० हजारसम्मको बिउ उत्पादनबाट आम्दानी गरी स्वरोजगारमा जोडिएका छन् ।

संस्थाले गत आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न जातका तरकारी तथा खाद्यवालीका बिउ बेचेर तीन करोड ६८ लाख ५१ हजार एक सय ५० रुपैयाँ बराबरको कारोवार गरेको छ । अघिल्ला दुई आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा क्रमश एक करोड १८ लाख र दुई करोड ३६ लाख बराबरको कारोवार गरेको छ ।

कर्णाली प्रदेशको एकमात्र बिउ उद्योग सञ्चालन गरेको सहकारीले महिलालाई क्षमता अभिवृद्धिसहित रोजगारी दिएको छ । पूणर्रुपमा महिलाहरुबाट सञ्चालित संस्थामा हाल करिव १५ जनाभन्दा बढी महिलाहरुले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

कृषि विकास निर्देशनालय सुखेतका निर्देशक चित्रबहादुर रोकयाले कृषिलाई आधुनिकतातर्फ प्रवोधिकरण गर्दै अर्गानिक उत्पादनमा जोड दिन बीउ उत्पादन ब्लक क्षेत्र घोषणा गरी निर्देशनालयले विभिन्न कार्यक्रम मार्फत सहयोग गरी रहेको बताए ।

बिउ उत्पादनमा बृद्धि भएसँगै ग्रेडिङ्गका लागि भर्खरै मात्र रु १५ लाख लागतको मेसिन उपलब्ध गराएको रोकायको भनाई छ । हाल हाते मेसिनको सहायताले बिउ ग्रेडिङ्ग हुने गरेको छ । बिउ उत्पादनमा पूर्वि सुर्खेत आत्मनिर्भर बनेको निर्देशक रोकायाको भनाई छ ।

तपाईको प्रतिक्रिया