दैलेखबाट जंगली जनावरको १० किलो मासुसहित चार पक्राउ

सुर्खेत। दैलेखमा शंकास्पद जंगली जनावरको मासुसहित चार जना पक्राउ परेका छन्। आइतबार बिहान ११ बजेको समयमा प्रहरीले डुङ्गेश्वर गाउँपालिका–१ जर्सीचोकबाट चार जनालाई पक्राउ गरेको हो।

दैलेख बजारबाट चुप्रातर्फ आउँदै गरेको मोटरसाइकललाई प्रहरी चौकी चुप्राबाट खटीएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा जंगली जनावरको मासु फेला पारेको जनाएकाे छ।

प्रहरीकाअनुसार कर्णाली प्रदेश ०२००१ प ४८१७ नम्बरको मोटरसाइकल चालक नारायण नगरपालिका–१ कुईकानका ४८ वर्षीया चक्रबहादुर सारु, डुङ्गेश्वर गाउँपालिका–२ का ३३ वर्षीया बिरबहादुर गुरुङको साथबाट ३ किलो मासु बरामद गरेको हो। साथै प्रहरीले उनिहरुको साथबाट बुसनेल नाम लेखेको एक थान दुरबिनसमेत बरामद गरेकाे छ।

यस्तै, प्रहरीले भे २ प ४६७९ नम्बरको मोटरसाइकल चालक नारायण नगरपालिका–१ का ४० वर्षीया रामु नेपाली र डुङ्गेश्वर गाउँपालिका–२ बिजयकोटका ५१ वर्षीया गोबिन्द सिंहको साथबाट ७ किलो जंगली जनावारको मासुसहित पक्राउ गरेको छ।

साथै उनिहरुको साथबाट २९ ग्राम बारुद, भरुवा बन्दुकमा प्रयोग हुने ९ वटा छर्रा, सेतो डिब्बामा रातो पटका र सलाई बरामद गरेको छ।

उनिहरु चारै जनालाई पक्राउ गरि आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दैलेखमा राखिएको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया