नागरिकतामा कविराम लेखिनु पर्ने नाम ‘कुकूर कामी’ भएपछि‍‍…

अमर सुनार

दैलेख । तपाईंले नागरिकताको प्रमाणपत्रमा कस्ता त्रुटी देख्नुभएको छ ? १९९० मा जन्मेको मान्छेको २०९० उल्लेख भएको, बाबु भन्दा छोरो जेठो जन्ममिति त्रुटी, शैक्षिक योग्यताका कागजमा एउटा नाम थर तर नागरिकतामा फरक उल्लेख भइदिएर धेरै सास्ती पाएका देख्नु वा सुन्नु भएको होला ।

तर, गोरे खत्री लेख्ने ठाउँमा गोरु खत्री भएको, इमानसिंह भारतीलाई बेइमानसिंह भारती जस्तोम नियतबस नाम बिगारिएका पनि छन् । यस्तै नियत नै खराब राखेर नागरिकताको प्रमाणपत्र वितरण गर्ने दैलेखमा तत्कालिन नापी अधिकृत दुर्गाप्रसाद गिरीको नागरिकता टोलीले कविराम कामी नाम बताउदा-बताउदै ‘कुकूर कामी’ नाम राखेर नागरिकता दिएको छ ।

२०४६ जेठ ७ गते गाउँमै गएको नागरिकता टोलीले नागरिकतामै ‘कुकूर कामी’ लेखिएको कारण ३३ वर्ष यता उहाँ गाउँसमाजका भेलामा जान छोडेका छन् । २०१७ पुस २५ गते जन्मिएका कविराम कामीलाई तत्कालिन मेहेलतोली गाउँपञ्चायतका प्रधानपञ्च बखतबहादुर खड्काको सिफारिसमा यो नागरिकता दिइएको हो ।

त्यसबेला मेहेलतोली गाउँपञ्चायत, अहिलेको संघीय पुनःसंरचना अघि मेहेलतोली गाविस थियो । नागरिकतामा मेहेलतोली गाउँपञ्चायत–६ लेखिएको ठाउँ संघीय पुनःसंरचनापछि अहिले भगवतीमाई गाउँपालिका–३ वडामा पर्दछ । नागरिकतामा ‘कुकूर कामी’ लेखिएका कविराम बुबा भुण्टो कामीका कान्छो छोरा हुनुहुन्छ । कविराम भन्दा अघि ६ वटा दाजुहरुको मृत्यूपछि जन्मेका र कुकूर नाम राखे बाँच्न सक्छन् भन्ने पण्डितको सल्लाहमा बाँचून भनेर राखिएको नाम थियो ‘कुकूर’ ।

(नागरिकतामा ‘कुकूर कामी’ लेखिएका कविराम कामी) तस्बिर : अमर सुनार

राशीको नाम कविराम आएको थियो, बाँचून भनेर ‘कुकूर’ नाम भन्ने गरिएका कान्छो छोरा संयोग नै होला बाँचे पनि । उनी त बाचे तर, नागरिकतामा ‘कुकूर’ लेखिएकै कारण उनि आफै, श्रीमती, सात छोराछोरी १३ नातिनातिनीहरु फलानोको श्रीमती, फलानोको छोराछोरी वा फलानोको नातिनातिनी भन्न नाम उच्चाहरण गर्न लाजिनु परेको छ ।

३२ वर्षीया जेठी छोरी लक्ष्मीको जाजरकोटको जुनिचाँदेमा विवाहभएको छ । एक छोरा र तीन छोरी जन्माइसकेकी उनले बुबाको नाम ‘कुकूर’ उल्लेख गरी नागरिकता लिन अप्ठ्यारो परेर नागरिकता हालसम्म लिएकी छैनन् । २६ वर्षीया माइली छोरी कल्पनाको भगवतीमाई गाउँपालिका–७ तौलुम विवाह भएर दुई छोरी छन्, उनले पनि यहीँ समस्याले नागरिकता बनाएकी छैनन् ।

२९ वर्षीया जेठो छोरा जयबहादुरले मलेसियामा तीन वर्ष काम गरे, बुबाको नाम ‘कुकूर’ लेखेर पैंसा पठाउन गाह्रो लागेर पैसा समेत पठाएनन् । पछि त्यहाँ झण्डै तीन लाख रुपैयाँ सापटी लिएका नेपाली साथीले फर्काएनन्, उतै पच्यो । २३ वर्षीया कान्छी छोरी रत्ना र २० वर्षीया माइलो छोरा सन्तरामले मात्रै नागरिकता बनाएका छन् ।

तर, बुबाको नाम ‘कुकूर’ लेखिएकै कारण त्यो नागरिकता देखाउन अप्ठ्यारोले गाउँका समूहमा बस्ने, सामुदायिक क्रियाकलापमा सहभागी वा प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता सरकारले दिएको आयआर्जन कार्यक्रममा सहभागी हुन नगएको उनिहरुको भनाई रहेको छ ।

१८ वर्षीया साइलो छोरा पप्पु कक्षा ८ मा पढ्दा चार वर्षअघि विद्यालयमा साथीहरुले जिस्काएकै कारण बिचैमा पढाई छाडे, अहिले उनी भारतमा मजदूर गर्दै आएका छन् । १६ वर्षीया कान्छो छोरा शिवराज अहिले गाउँकै एक विद्यालयमा कक्षा १० मा पढ्दै छन् ।
साथीहरुले जिस्काइदिने गरेकै कारण शिवराज पनि हतोत्साहित हुने गरेको आफूले पनि महसुस गरेको खड्गदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद रेग्मीले बताए । उनले भने, ‘बुबा नाम थाहा पाएर पनि साथीहरुले जिस्काउने गर्छन्, हामीले त्यसो नगर्नु भनेर सम्झाउने चाहिँ गरेका छौं ।’

जन्मिंदै छोराहरु मर्न थालेपछि कविरामको जस्तै मेहेलतोली र छिमेकी गाउँ जगनाथमा समेत त्यो समयका करिव छ जनाको नाम ‘कुकूर’ भन्ने गरिएको थियो । समाजका अगुवाहरुले सभ्यताको विपरित हुने भन्दै राशीको नाम लेखाए ।

कविरामले नागरिकता लिएकै समय अर्थात यिनै दुर्गाप्रसाद गिरी टोली प्रमुख खटिई आएको बेला जगनाथका उतिबेलाका जनप्रतिनिधि र सामाजिक अगुवाहरुले ‘कुकूर’ नाम भन्ने गरिएका तीन जनालाई मध्ये एक जना प्रेमबहादुर दमाई, दोश्रो व्यक्ति पदमबहादुर कामी र अर्को धनबहादुर कामी नाम लेखेर नागरिकता पाए ।

जगनाथमा नागरिकता बाँडेको एक सातापछि मेहेलतोली पुगेका टोली प्रमुख दुर्गाप्रसाद गिरीले दस्तखत गर्दा नागकिरतामै ‘कुकूर’ नलेखौं भनेर रोकेको भए बदलिन सक्थ्यो । नागरिकताको प्रमाणपत्र सम्बन्धी सिफारिसमा प्रधानपञ्चबाट सही गराउनु अघि त्यसबेलाका गाउँपञ्चायतका सचिवले ध्यान पु¥याएको भए कविराम कामी लेखिएको हुन्थ्यो ।

मेहेलतोलीमा त्यो बेला तीन जनाको नाम ‘कुकूर’ लेखेरै नागरिकता दिइएको विवरण प्राप्त भएको छ । अरु दुई जनाको निधन भइसकेको छ । अरु दुई जना कविराम भन्दा १५–२० वर्ष जेठा थिए । नागरिकतामै ‘कुकूर’ नाम लेखिएका सबै जना दलित मात्र हुन् । ‘बाँचुन भनेर राखिएको नाम बदल्न सकिन्थ्यो, हाम्रो गाउँमा बदल्यौं’ भगवतीमाई गाउँपालिका–४ जगनाथका स्थानीय बासिन्दा पूर्व शिक्षक कृष्णप्रसाद अधिकारीले सुनाए । उनले भने ‘घरकाले बिगारेको नाऊँ, ठालुले बिगारेको गाऊँ’ उखान त्यसै चलेको होइन् ।

दमाई कामीहरु कै नाम बिगार्ने राख्ने श्रृंखला अझै पनि कायम रहेको अधिकारकर्मी मनिषा बिकको टिप्पणी छ । ‘यो जातीय विभेदको स्वरुप हो’ उनको तर्क रहेको छ । अगाडिका सन्तानहरु मरिरहन थालेपछि बाँचुन भनी ‘कुकूर’ क्षेत्री, बाहुन वा ठकुरीलाई भनिएन ? मनिषाको प्रश्न छ ।

कविराम कामीको नागरिकतामा ‘कुकूर कामी’ लेखिएकै विषयमा दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल समक्ष राख्दा उनले के कसरी सुधार गर्न सकिन्छ ? प्रक्रिया के हुनसक्छ मन्त्रालयमा सोधेर भन्न सकिने जानकारी दिए ।

यहीँ समस्यमा बारे गृह मन्त्रालको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका इञ्चार्ज सहसचिव डा. भीष्मकुमार भुसालले नागरिकतामै ‘कुकूर कामी’ लेखिनु आपत्तिजन भएको टिप्पणी गरे । उनले भने ‘यसले धेरै अपमान बोध गराएको होला भन्ने सहजै महशुस भएको छ, नाम बदल्ने बारे समाधानको पहल हुन्छ ।’

तपाईको प्रतिक्रिया