घुम्न जाँदा समुद्री तटबाट हराइन् श्रीमती, खोज्दा १ करोड खर्च, प्रेमीसँग भेटिइन्

काठमाडौं भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनमबाट एउटा अनौठो घटना बाहिरिएको छ। एक जोडी सोमबार विशाखापट्टनमको आरके बीचमा आफ्नो दोस्रो विवाहको वार्षिकोत्सव मनाउन गएका थिए।

यसै क्रममा श्रीमती बेपत्ता भइन्। श्रीमानलाई लाग्यो उनी समुद्रमा डुबिन्। उनले श्रीमतीको शव खोजिरहे। तर पछि थाहा भयो कि उनी आन्ध्रकै नेल्लोरमा आफ्ना प्रेमीसँग छिन्।

समुद्री तटबाट बेपत्ता भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ती महिलाको शव दुई दिनसम्म समुद्र तट र आसपासका क्षेत्रमा खोजी गरेको थियो। यसका लागि नौसेनाको हेलिकप्टरको सहयोग पनि लिइएको थियो।

यससँगै समुद्री प्रहरी, गोताखोर, माछा मार्नेहरूले खोजी गरेका थिए। खोजी कार्यमा प्रशासनले करिब एक करोड भारु खर्च गरेको छ।

विवाहको दोस्रो वर्षगाँठ मनाउन गएको थियो जोडी

२१ वर्षीया साइप्रिया विशाखापट्टनम निवासी हुन्। उनले दुई वर्षअघि श्रीकाकुलम निवासी श्रीनिवास रावसँग विवाह गरेकी थिइन्। सोमबार श्रीमान् र श्रीमती आफ्नो दोस्रो विवाह वार्षिकोत्सव मनाउन सिंहचलम मन्दिर गए र त्यसपछि समुद्र तटमा घुम्न गए।

सोमबार राति, दम्पती समुद्री तटमा पैदल यात्रा गर्दै थिए। यसै क्रममा श्रीमानको फोन आयो र श्रीमतीलाई छोडेर उनी अर्को ठाउँतिर लागे। त्यतिबेला श्रीमतीले फोनमा सेल्फी खिचिरहेकी थिइन्।

केही मिनेटपछि श्रीमान् फर्किए तर श्रीमती भेटिइनन्। उनले श्रीमती समुद्रमा बगेको महसुस गरेपछि तत्कालै प्रहरीलाई खबर गरेपछि खोजी अभियान सुरु भयो।

महिलाले नेल्लोरबाट आफ्ना आमाबुवालाई सन्देश पठाइन्

ती महिला आफ्नो प्रेमीसँग आरके बीचबाट भागेर रेल चढेर नेल्लोरको कावली पुगिन्। भाग्नुअघि उनले आफ्नो सामाजिक सञ्जाल खाताहरू डिलिट गरेकी थिइन् र आफ्नो फोन पनि छोडेकी थिइन्।

नेल्लोर पुगेपछि, उनले नयाँ सिम किनिन् र आफ्ना आमाबाबुलाई आफू सुरक्षित भएको र प्रेमी रविसँग भएको सन्देश पठाइन्। उनले आफ्ना आमाबुवालाई भोइस मेसेज पठाएर आफूले रविसँग विवाह गरिसकेको र आफूलाई खोज्ने प्रयास नगर्न आग्रह गरेकी छिन्।

उनको खोजी गर्न समस्या भोग्नुपरेको भन्दै उनले सरकारी अधिकारीसँग माफी पनि मागिन्। उनले आफ्ना अभिभावकसँग आफू भएको स्थानबारे पत्ता लगाउने कोसिस गरे आफ्नो ज्यान नै दिने चेतावनी पनि दिएकी छिन्।

तपाईको प्रतिक्रिया