ट्वीटरमा गाली खाने सूचीमा रोनाल्डो र म्याग्वायर अगाडि

काठमाडौं । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र कप्तान ह्यारी म्याग्वायर सामाजिक सञ्जाल ट्वीटरमा सबैभन्दा बढी आलोचना खेप्ने प्रिमियर लिगका खेलाडी रहेको एक अध्ययनले देखाएको छ ।

अफकमले गत सिजनको पहिलो हाफमा २३ लाख ट्वीटको अध्ययन गर्दा ६० हजारभन्दा बढी गालीगलौज गरिएका ट्वीटहरु फेला परेको थियो । त्यसमध्ये आधा प्रिमियर लिगका १२ खेलाडीमाथि लक्षित थियो । यसमा पनि ८ जना युनाइटेडका खेलाडी थिए ।

एलन टुरिङ इन्सटिट्युटले १३ अगस्त, २०२१ देखि २४ जनवरी, २०२२ सम्म गरेको अध्ययनमा रोनाल्डो लक्षित सबैभन्दा बढी १२ हजार ५२० गालीगलौज युक्त ट्वीट गरिएका थिए । दोस्रो स्थानमा ह्यारी म्याग्वायर लक्षित ८ हजार ९५४ ट्वीट भएका थिए । त्यसपछि यो सूचीमा क्रमशः मार्कस राफोर्ड, ब्रुनो फर्नान्डेज, ह्यारी केन, फ्रेड, जेसे लिन्डगार्ड, ज्याक ग्रिलिस, पाउल पोग्बा र डेभिड डि गेया रहेका छन् ।

इन्सटिट्युटले अधिकांश फ्यानहरूले जिम्मेवारीपूर्ण ढङ्गले सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको पनि उल्लेख गरेको छ । यो अध्ययनले सुन्दर खेलको अँध्यारो पक्षलाई उजागर गर्ने अफकमका निर्देशक केभिन ब्याकहर्सटले भने ।

 

तपाईको प्रतिक्रिया