बाबु मृत फेला परेपछि छोराले दिए किटानी जाहेरी

सुर्खेत। बिहीवार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सल्यान जिल्लाका नेता लोकमान खत्री (लोकपाल) को मृत्यु प्रकरणमा उनीसँगै मदिरा सेवन गरेका टोपबहादुर खत्रीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

शुक्रवार लोकमानका छोरा लोकेशकुमार खत्रीले छत्रेश्ववरी गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय टोपबहादुर खत्रीविरूद्ध जाहेरी दर्ता गराएका हुन्। लोकेशले जिल्ला प्रहरी कार्यालय सल्यानमा टोपबहादुरविरूद्ध किटानी जाहेरी दिएको डिएसपी सुमित खड्काले जानकारी दिए।

‘उहाँले जाहेरी दिएपछि टोपबहादुरलाई पक्राउ गरिएको छ। जिल्ला अदालतबाट पाँच दिन म्याद लिई अनुसन्धान जारी छ,’ उनले भने। सल्यानको छ्त्रेश्वरी गाउँपालिका वडा नम्बर ४ झिम्पेका ५३ वर्षीय लोकमान बिहीबार बिहान साढे ९ बजेतिर बागचौर ननगरपालिका वडा नम्बर १० शिवगुफा नजिकै धान खेतमा मृत अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार शिवगुफा सामुदायिक वन भित्रको गोरेटो बाटोदेखि ३५ मिटर तल खेतमा घोप्टो अवस्थामा लोकमान मृत अवस्थामा फेला परेका थिए। प्रहरीले भिरबाट लडेर उनको मृत्यु भएको हुन सक्ने आशंका गरेको छ।

तपाईको प्रतिक्रिया