सुर्खेत। निर्माण पूर्वको तयारीमा रहेको बेतन कर्णाली जलविद्युत आयोजना (४३९ मेगावाट) बाट सुर्खेत र अछाम जिल्लाका तीन सय ८४ परिवार प्रत्यक्ष प्रभावित हुने भएका छन्। प्रर्वद्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले तीन सय ३१ परिवारले घरजग्गा दुवै गुमाउने र ५३ परिवारले घर संरचनामात्र गुमाउने जनाएको छ।
आयोजनाबाट अछामका ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका र सुर्खेतका चौकुन गाउँपालिका र पञ्चपुरी नगरपालिका प्रभावित हुनेछन् । आयोजनाले तीन सय ३१ परिवारको ७० हेक्टर जग्गा अधिग्रहण गर्ने तयारी गरेको छ। आयोजनाका प्रबन्धक उपेन्द्र न्यौपानेले तीन सय ३८ निजी घरसंरचना प्रभावित हुनुका साथै ३५ व्यापार व्यवसाय विस्थापित हुने जानकारी दिए।
उनकनअनुसार आयोजना निर्माणबाट तीन झोलुङ्गे पुल, एक लघु जलविद्युत, एक मन्दिर, आठ खानेपानी धारा, दुई सिंचाई कूलो गरी १५ सार्वजनिक संरचना प्रभावित हुनेछन्। ‘अछामतर्फको जग्गाको मुआब्जा निर्धारण समितिले मूल्यांकन गरिसकेको छ, बैंकको टुङ्गो लाग्न नसक्दा मुआब्जा वितरण हुन सकेको छैन्,’ आयोजना प्रबन्धक न्यौपानेले भने, ‘सुर्खेततर्फ मूल्याङ्कन हुन बाँकी छ, ऐलानी जग्गा र ती जग्गामा बनेका संरचनाको क्षतिपूर्तिका हकमा नेपाल सरकारले नै निर्णय गर्छ।’ आयोजनाले अछामतर्फ एक हजार आठ सय ४४ तथा सुर्खेतमा करिब चार सय रोपनी जग्गा अधिग्रहण गर्दैछ।
प्रभावित क्षेत्रका लागि आयोजनाले कूल लागतको कम्तीमा ०.५ प्रतिशत रकम छुट्याई सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गर्नेछ । रु. ८८ अर्ब लागत रहेको यो आयोजना निर्माण सुरु भएको मितिले पाँच वर्षभित्र सम्पन्न गर्ने प्रर्वद्धक कम्पनीले जनाएको छ। कर्मचारी सञ्चयकर्ताको मुख्य लगानीमा बन्न लागेको यस आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) अन्तिम चरणमा पुगेको छ।
आयोजनाका प्रबन्धक न्यौपानेले जग्गा अधिग्रहण तथा मुआब्जा वितरण, बैङक काउन्टर स्थापना गरी खाता खाल्न, बेलिब्रिज निर्माण गर्न, कन्स्ट्रक्सन पावर जडान र विद्युत खरिद सम्झौता (पिपिए) गर्न बाँकी रहेको बताए। उनले भने, ‘अछामतर्फ पहुँच सडक निर्माण भइसक्यो, सुर्खेततर्फ सात किमी ट्रयाक खोल्न बाँकी छ, पिपिए एग्रिमेन्ट र कन्स्ट्रक्सन पावर जडानका लागि पनि प्रक्रिया अघि बढिसकेको छ, मुख्य ठेक्का लाग्न अझैं कम्तीमा एक-डेढ वर्ष लाग्छ।’
यो अर्धजलाशययुक्त आयोजना हो। आयोजनाको ड्याम (बाँधस्थल) अछामको ढकेरी गाउँपालिका ६ मालुमेला तथा सुर्खेतको चौकुने गाउँपालिका ६ र पावरहाउस (विद्युतगृह) अछामको ढकारी गाउँपालिकामै पर्ने टटालीघाटमा रहनेछ। डाईभर्सन टनेल चौकुने गाउँपालिकाको वडा नं ६ मा पर्दछ। मुख्य पावरहाउसबाट ४३०.२ मेगावाट र वातावरणीय बहावबाट थप ८.८ मेगावाट विद्युत उत्पादन गर्ने गरी डिजाईन गरिएको छ। मालुमेलामा एक सय ४० मिटर अग्लो बाँधबाट २१ किमी लामो कृत्रिम ताल बन्नेछ।
कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करिब ६ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो।
शेयर संरचना अनुसार कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, विद्युत उत्पादन कम्पनी लिमिटेडको १० प्रतिशत, प्रभावित बासिन्दाको १० प्रतिशत, सर्वसाधारणको १३ र आयोजना प्रभावित क्षेत्रका अति विपन्न परिवारको दुई प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ।
यहाँबाट उत्पादित विद्युतले पहिलो वर्ष रु. १४ अर्ब ५० करोड तथा निर्माण सम्पन्न भएको नौ वर्षपछि रु. १८ अर्ब ३७ करोड २१ लाख ८ हजार वार्षिक आय हुने अनुमान गरिएको छ। आयोजना सञ्चालनबाट प्राप्त हुने रोयल्टीको २५ प्रतिशत स्थानीय सरकार, २५ प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत सङ्घीय सरकारमा बाँडफाँट हुनेछ।
नेपालीरैबार । २०७९ श्रावण २२, आईतवार