विवादित बनेका कर्णाली पर्यटन मन्त्री कार्चेनकाे कार्यकाल सकिँदै

सुर्खेत । ई०७८ माघ २३ मा माओवादीको तर्फबाट कर्णाली सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छिरिङ डम्डोल (कार्चेन) लामाको कार्यकाल आज (सोमबार) सकिँदैछ । संवैधानिक व्यवस्था अनुसार गैर सांसदबाट मन्त्री बनेकाको कार्यकाल ६ महिनापछि स्वतः रिक्त हुने उल्लेख छ । सोही अनुसार लामाको कार्यकाल आज सकिन लागेको हो ।

लामामाथि मूर्ति चोरीको आरोप लागेपछि निकै विवाद समेत भयो । उनको विरुद्धमा मुद्दासमेत अदालतमा पुगेको थियो । यद्यपि माओवादी केन्द्र संसदीय दलले उनको नाम सिफारिस गरेपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री नियुक्त गरेका थिए । उनको पद रिक्त हुने भएपछि माओवादी केन्द्रबाट डोल्पाका सांसद वीरबहादुर शाही मन्त्री बन्ने चर्चा छ ।

माओवादी केन्द्रकी प्रमुख सचेतक कृष्णा शाहकाअनुसार मन्त्री लामाको ठाउँमा शाहीलाई नै पठाउने गरी दलभित्र ‘लबिङ’ भइरहेको छ । उसो त सांसद शाही अघिल्लो पटक नै मन्त्री बन्ने कुरा बाहिर आएको थियो । तर, अन्तिम समयमा कार्चेन लामालाई मन्त्री बनाइएपछि उनी रुष्ट बनेका थिए ।

वीरबहादुर शाहीसँगै कृष्णा शाहको पनि चर्चा थियो । यद्यपी जाजरकोटबाट गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा विकास मन्त्री बनिसकेको र डोल्पाबाट मन्त्री नभएकाले शाही नै मन्त्री बन्ने पक्का–पक्की छ । सोही अनुसार नै कृष्णालाई दलको सचेतकको जिम्मेवारी दिइएको छ । डोल्पाको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्ष तर्फ जितेर सांसद बनेका शाही पनि आफू मन्त्री बन्नेमा ढुक्क रहेको बताउँछन् ।

तपाईको प्रतिक्रिया