कार्चेनको कार्याकाल सकियो, नयाँ मन्त्री छान्न पूर्व मुख्यमन्त्री शाहीलाई दिइयो जिम्मेवारी

सुर्खेत। कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रुपमा गैरसांसद नियुक्त भएका छिरिङ डम्डोल (कार्चेन) लामाको कार्यकाल सकिएको छ। लामाको कार्यकाल सकिएपछि नयाँ मन्त्री सिफारिस गर्न सोमबार बसेको नेकपा माओवादी संसदीय दलको वैठक बिना निष्कर्ष टुङ्गिएको छ।

अन्य मन्त्री हेरफेर र समानुपातिक सांसदको कुरा उठेपछि बैठक निष्कर्ष विहिन भएका हो । पुराना मन्त्री हेरफेर गरेर नयाँलाई अवसर दिने विषय उठेपछि सहमति हुन नसकेको हो। पार्टीमा आवश्यक छलफल गरी विवाद टुङ्ग्याउने जिम्मा संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएको संसदीय दलकी प्रमुख सचेतक कृष्णा शाहले नेपालीरैवारलाई जानकारी दिइन।

मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सिफारिसमा लामालाई २०७८ माघ २३ गते मन्त्री नियुक्त गरेका थिए। सांसद नरहेको व्यक्ति ६ महिनाको लागि मन्त्री बन्न सक्ने व्यवस्था छ । लामाको कार्यकाल आज (सोमबार) सकिएपछि माओवादी संसदिय वैठकले उनको ठाउँमा अर्का सांसदलाई सिफारिस गर्ने तयारी गरेको दलका सचेतक कृष्णा शाहले बताइन्।

राजनीतिमा लाग्नुअघि लामामाथि जिल्ला अदालत हुम्लाले मूर्ति चोरीको अभियोग पुष्टि गरेको थियो । मूर्ति चोर जस्तो गम्भिर अभियोग लागेका लामालाई मन्त्री नबनाउन भन्दै मुख्यमन्त्री शाहीमाथि दवाव परेको थियो । तर, सत्ता गठवन्धनका कारण मुख्यमन्त्री शाहीले लामालाई मन्त्री नियुक्त गर्न बाध्य भएका थिए।

यसअघि माओवादी डोल्पाका सांसद वीरबहादुर शाहीलाई मन्त्री बनाउने चर्चा चलेपनि अन्तत गैरसांसद लामालाई मन्त्री बनाएर शाहीलाई व्याक गराइएको थियो। नयाँ मन्त्रीमा डोल्पाको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्ष तर्फका उनै सांसद वीरबहादुर शाहीको नाम चर्चामा छ ।

तपाईको प्रतिक्रिया