जुम्लाकाे गुठीचौरमा कार्यरत अधिकृत पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

तीन लाख ८८ हजार सात सय पचास रुपैयाँ हिनामीना

सुर्खेत। तत्कालिन जिल्ला कृषि विकास कार्यालय, कालीकोटका तत्कालीन प्रा.स. हाल गुठीचौर गाउँपालिका जुम्लाका (अधिकृत छैटौं) तहमा कार्यरत रत्नप्रसाद पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले मंगलबार पाण्डेविरुद्ध भ्रष्टाचारको आरोप–पत्र विशेष अदालतमा दायर गरेको हो।

साविकको जिविस कार्यालय कालीकोटबाट आर्थिक वर्ष २०७०/०७१ मा जिल्ला कृषि विकास कार्यालय, कालीकोटले सञ्चालन गरेको कृषि तालिम कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामीना गरेको पाण्डेविरुद्ध आयोगको ठहर रहेको छ।

आयोगले उनिमा अनुसन्धान गर्दै जादा तालिम कार्यक्रममा झुट्टा विल बनाई भुक्तानी लिएको, तालिम सञ्चालनका लागि सामानको खरिद गरेको र ढुवानीमा खर्चमा मिलाएर तीन लाख ८८ हजार सात सय पचास रुपैयाँको झुट्टा विल बनएको अख्तियारले फेला पारेको हो।

पाण्डेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर भएकोले विगो तीन लाख ८८ हजार सात सय पचास रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कैद सजाय र विगो समेत असुल हुन मागदावी अख्तियारले गरेको छ।

पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आयोगले विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरेको हो।

तपाईको प्रतिक्रिया