हुम्लामा भीरबाट चिप्लिएर एक सैनिकको मृत्यु

हुम्ला। हुम्लामा चिप्लिएर एक सैनिकको मृत्यु भएको छ। उनको बिहीबार बिहान ६ बजेको समयमा मृत्यु भएको हो। कर्णाली करिडोर निर्माणका लागि हुम्ला खार्पुनाथ गाउँपालिका–१ लालिबगरमा रहेको नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको हो।‍

कर्णाली करिडोर निर्माणका क्रममा चट्टाने भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा चिप्लिएर प्राविधिक अमल्दार टिकाराम लामिछानेको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।

उनी मेसिन भएको स्थानबाट एक सय मिटर तल खसेका थिए। मेसिन जाँच गर्नका लागि उनीसँगै पुगेका हरिराम विष्ट चिप्लिएपछि उनलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियाले जानकारी दिइन्। घाइते विष्टको नेपालगन्जमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया