नेपाली रैबारका तीन वर्ष : पाठकको अपार माया

मिसन कर्णाली मिडिया हाउस प्रा.लिले सञ्चालन गरेको नेपाली रैबार डटकम आज बुधबारबाट दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ भदौ १ गतेबाट हामीले सञ्चालन गरेको डिजिटल अनलाईन पत्रिकाको तेस्रो वार्षिकोत्सवको यस शुभ अवसरमा आम पाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवं शुभेच्छुक सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं । साथै संस्थामा आबद्ध पत्रकार र अन्य कर्मचारी साथीहरूप्रति विशेष आभार व्यक्त गर्दछौं । उहाँहरूको परिश्रम, लगाव र मायाकै कारण संस्थाले यहाँसम्मको यात्रा तय गरेको हो ।

डिजिटल मिडियाको प्रतिस्पर्धी बजारमा एउटा संस्था जन्माएर आफ्नो पहिचान स्थापित गर्नु सजिलो काम होइन र थिएन पनि । प्रिय पाठकले देखाएको विश्वासका कारण हामीले यो दोस्रो वर्षको अवधिमा एउटा पहिचान स्थापित गर्न सफल भएका छौं । डिजिटल मिडियाको यो भीडमा अलग पहिचान बनाइराख्न अनवरत खटिरहनुभएका साथीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सक्रियताको अपेक्षा राखेका छौं । पाठकको माया, सद्भाव र समालोचनात्मक प्रतिक्रियाले हामीलाई सधैं उत्साहित बनाइराख्ने ऊर्जा प्रदान गरिरहनेछ भन्ने विश्वास लिएका छौं ।

आगामी पाँच वर्षका लागि नागरिकले आफ्ना जनप्रतिनिधि चयन गरिसकेका छन् । नागरिकको अमूल्य मत पाएर स्थानीय शासन सञ्चालनको जिम्मेवार तहमा पुगेका जनप्रतिनिधिमाथि पनि हाम्रो खबरदारी रहने नै छ । पाठकको मायाले हामीमाथि नागरिकलाई अझ सुसूचित बनाउने दायित्व थपिएको महसुस भएको छ । त्यसैले हामी अझै विशिष्टीकृत हुँदै जाने प्रयासमा छौँ । मिडियाको प्रयासले नै आम नागरिकको जीवनस्तर, सोचाइ र समृद्धिमा योगदान पुग्नेमा हामी विश्वस्त छैिँ । डिजिटल मिडियाले समेट्नुपर्ने दायरा फराकिलो बन्दै गएको छ र यसप्रति पाठकका आशा, अपेक्षा र आकांक्षा पनि बढ्दै गएको विश्वास लिएका छौँ ।

कोभिड महामारीले थिलथिलो बनाएको अर्थतन्त्र अझै पूर्ण लयमा फर्किसकेको छैन । नागरिकका दैनिकी समस्या ज्युँका त्युँ छन् । आवाज विहीनको आवाज मानिने पत्रकारिता क्षेत्रको भूमिका यस्तो अवस्थामा अझ बढी हुने गर्छ । आम नागरिकका सरोकार नै हाम्रा मूल विषयवस्तु हुन् । देशको मूल नीति मानिने राजनीतिलाई त झन् अलग गर्नै मिल्दैन । मिसन कर्णाली मिडिया हाउस प्रा.लि तथा नेपालीरैबार डटकमको यस तेस्रो वार्षिकोत्सवको शुभ अवसरमा नेपालीरैबार अनलाइन न्युज पोर्टल लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै सत्य–तथ्य सूचना सम्प्रेषणमा निर्भीकतापूर्वक सक्रिय रहिरहने विश्वास दिलाउन चाहान्छौं । धन्यवाद ।

नविन कुमार सुबेदी
अध्यक्ष, मिसन कर्णाली मिडिया हाउस प्रा. लि

तपाईको प्रतिक्रिया