जापान किन युवाहरुले रक्सी कम पिएकोमा चिन्तित छ ?

काठमाडौं । जापानका युवाहरूमा रक्सी पिउने बानी वृद्धहरुको तुलनामा निकै कम छ। त्यहाँको सरकार यस अवस्थाबाट चिन्तित देखिन्छ। त्यसैले उसले युवाहरूमा मदिरा सेवन बढाउने प्रयास गर्दैछ।

युवामा मदिरा सेवन गर्ने प्रवृत्ति घट्दै गएपछि सरकारी राजस्व घट्दै गएको छ। जापानको परम्परागत मदिरा साकेका बिक्रीबाट प्राप्त हुने कर पनि घटिरहेको छ।

त्यसैले जापानका कर एजेन्सीले घट्दो पेय पदार्थको सेवनको दर घटाउने उपाय सुझाउन देशभरका नागरिकसँग आह्वान गरेका छन्। साके भिभा नाम दिइएको यस अभियानको उदेश्य युवाहरु माझ सोकेको सेवन बढाउनु रहेको बताइएको छ।

जापानको राष्ट्रिय कर एजेन्सीले यस अभियानमा २० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिले भाग लिन सक्ने बताएको छ । उपाय पठाउने व्यक्तिले जापानी सेक, शोचु, ह्विस्की, बियर र वाइनहरुलाई युवाहरु माझ लोकप्रिय बनाउन उनले व्यवसायिक उपाय सुझाएर पठाउनुपर्छ।

प्रतियोगिता सञ्चालन गरिरहेको एजेन्सीले कोभिडको समयमा युवाहरुले मदिरा सेवन घटाउँदै लगेको बताएको छ। एजेन्सीले मदिराको लोकप्रियता वृद्धिका लागि अपनाउन सकिने प्रचारात्मक अभियान, ब्रान्डिङ र आर्टिफिसियल इन्टेलिजेन्समार्फत नयाँ विचार प्रस्तुत गर्न सक्छन्।

जापानी मिडियाकाअनुसार सरकारको यो अभियानप्रति जनताको प्रतिक्रिया मिश्रित रहेको छ। केहीले सरकारी एजेन्सीले हानिकारक बानीलाई बढावा गरेको भन्दै आलोचना गरिरहेका छन्। अरुले भने समाजिक सञ्जालमा रक्सीको प्रयोग बढाउने उपाय सुझाउन थालेका छन्।

यस प्रतियोगितामा सहभागी हुनेहरुले सेव्छ मसान्तभित्र सरकारी निकायमा आफ्ना विचार पठाउनुपर्नेछ। जापानमा सन् १९९५ को तुलनामा सन् २०२० मा कम रक्सी पिएको देखिएको छ। सन् १९९५ मा जापानमा औसत वयस्कले एक वर्षमा १०० लिटर रक्सी पिउने गरेकोमा सन् २०२० मा त्यो औसत ७५ लिटर बनेको छ।

जापान टाइम्सका अनुसार सन् १९८० मा देशको कुल राजस्वमध्ये ५ प्रतिशत रक्सीबाट आउने गरेकोमा सन् २०२० मा यसको योगदान १.७ प्रतिशत पुगेको छ। युवामा रक्सी सेवनको घट्दो रूचिका अतिरिक्त देशको घट्दो जनसंख्या पनि यसका लागि जिम्मेवार मानिएको छ।

तपाईको प्रतिक्रिया