उनले पाँच वर्षदेखि जागिर खाइरहेको अफिस छोडिदिइन्। उनलाई असाध्यै चित्त दुखेको थियो किनभने आफ्नो विवाहमा उनले ७० जना सहकर्मीलाई निम्तो दिएकी थिइन् तर एकजना मात्रै उपस्थित भए।
यो घटना चीनको हो। चीनको सञ्चार माध्यम इटी टुडेमा यसबारे समाचार प्रकाशित गरेको छ। ती महिलाले आफ्नो जीवनको सबैभन्दा खुसीको दिनमा आफ्ना सहकर्मीले आफूलाई अपमानित गरेको भन्दै सोसल मिडियामार्फत् चित्त दुखाइन्।

नाम नखुलाइएकी ती महिला विगत पाँच वर्षदेखि त्यहि कम्पनीमा काम गर्दै आएकी थिइन् र उनीहरु सबैसँग राम्रो सम्बन्ध भएको ठान्थिन्। उनले आफ्ना ७० जना सहकर्मीमध्ये एक तिहाईको विवाहमा सहभागी पनि भएकी थिइन्। त्यसैले आफूले विवाह गर्ने निर्णय गरेपछि धेरैजना साथीको उपस्थिति हुने उनले आशा गरेकी थिइन्।
ती महिलालाई आफ्ना सहकर्मीको उपस्थितिमाथि पूर्ण विश्वास थियो त्यसैले उनले सहकर्मीमध्ये पनि कसैलाई निम्तो दिने कसैलाई नदिने गरिनन्। उनले आफ्ना सहकर्मीका लागि ६ वटा टेबलसमेत बुक गरेर राखेकी थिइन्। तर बिडम्बना ७० वटा सिटमध्ये एउटा मात्रै प्रयोगमा आयो।
उनको विवाह सरिक हुनेमा उनकै प्रशिक्षार्थी थिइन् जसले सम्भवतः त्यहाँ हुनुपर्ने बाध्यता महसुस गरिन्। यसबारे उनले वेबोमा लेखेकी छिन्, ‘मैले सबै पाहुना विशेषगरी मेरो श्रीमानको परिवारको अगाडि लज्जित महसुस गरेँ। मैले दिनभरी टाउको उठाउन सकिनँ।’
विवाहपछि उनले राजीनामा दिइन् किनभने उनले आफ्नो विवाहको दिन लज्जित महसुस गराउने सहकर्मीसँग आइन्दा काम गर्न नसक्ने बताइन्।










नेपालीरैबार । २०७९ भाद्र ४, शनिबार