वन्यजन्तु र मानवबीचको द्वन्द्व

न्यूनिकरणका ठोस योजना निकुञ्जसँग छैन् !

सुर्खेत। २०७६ पुस १४ गते बराहताल गाउँपालिका–३, लेखगाउँमा ४५ वर्षीया चन्द्रा नेपालीको बाघको आक्रमणबाट मृत्यु भयो। घर नजिकै बारीमा घाँस काट्न गएकी नेपालीलेबाघको आक्रमणबाट घटनास्थलमै ज्यान गुमाईन। नेपालीको मृत्यु भएको केही दिनपछि सोही ठाउँकी अमृता बरालसहित २ जनालाई बाघले गम्भिर घाइते बनायो।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित जङ्गलमा घाँस काट्न गएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानीका २ जनाको आइतबार बाघको आक्रमणबाट मृत्यु भयो। निकुञ्जसँग जोडिएको जङ्गलमा मानिसलाई आक्रमण गरेको घटना सेलाउन नपाउँदै बुधबार बिहानै सल्यानको कालीमाटी गाउँपालिका–७ बाटुलेमा बाघ प्रवेश गर्यो।

बाघले स्थानीय तुल्सीकुमारी घर्तीका दुई गोरु मार्नुका साथै एकलाई घाइते बनायो। सोही दिन बराहताल–३, मा पनि १ बाख्रा मा¥यो। माथी उल्लेखित घटना केही प्रतिनिधिमुलक हुन्। केही वर्ष यता बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु निकुञ्ज बाहिरका वस्तीहरुमा पस्न थालेपछि सुरक्षा चुनौति थपिन थालेको छ। निकुञ्जबाट बाहिरिने जनावरलाई रोक्न निकुञ्जसँग ठोस योजना नहुँदा थप चुनौति बढेको छ।

३ आर्थिक वर्षको एकिन तथ्यांक नभएपनि निकुञ्ज सिमावर्ती क्षेत्रमा पर्ने सुर्खेतका बराहताल गाउँपालिका, भेरीगंगानगरपालिका र सल्यानका दक्षिणी क्षेत्रका वस्तीहरुमा करिव एक हजारभन्दा बढि पशुचौपाए बाघले मारेको छ।पछिल्लो समय निकुञ्ज छाडेर बाघ बस्ती प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बन्न थालेका छन्।

प्रायः निकुञ्जको दक्षिणी भेगमा भेटिने बाघ उत्तरतर्फ उक्लिन थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दा त्रसित भएका छन्। भेरीगङ्गा नगरपालिका–५, का वडाध्यक्ष प्रेमबहादुर सारुले बाघ बस्ती छिर्न थालेपछि स्थानीय बासिन्दामा त्रास बढेको गुनासो गरे।

‘एउटा बाघलाई निकुञ्जले नियन्त्रणमा लिए पनि अरु थुप्रै बाघ छन्, यहाँ मानिसमा त्रास बढेको छ, बस्ती बाहिर निस्किन डरारहेको अवस्था छ,’ उनले भने, ‘निकुञ्ज प्रशासनले बाघलाई बस्तीमा जान नदिन निगरानी बढाउनुपर्छ, बाघ उकालो चढिरहेकाले निकुञ्जले यसतर्फ पनि ध्यान दिनुपर्थ्यो।’

मध्यवर्ती क्षेत्रमापर्ने जङ्गलमा बाँस काट्न गएका भेरीगङ्गा गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि ओलीको आइतबार बाघको आक्रमणबाट मृत्यु भएको थियो।

जङ्गलमा मानिसलाई आक्रमण गरेको ३ दिनपछि बाघ गेरवानीसँगै जोडिएको सल्यानको कालीकाटी गाउँपालिकाको बाटुले गाउँ पुगेको थियो। सोही बाघलाई बुधबार निकुञ्ज कर्मचारी, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए।

बाटुले र गेरवानी निकुञ्जसँग सीमा जोडिएका (मध्यवर्ती क्षेत्र) गाउँमा पर्दछन्।  प्रायः निकुञ्जको दक्षिणी भागमा भेटिने बाघ पछिल्लो समय उत्तरतर्फ बढेपछि आक्रमणको जोखिम बढेको स्थानीयवासी बताउँछन्।

गेरवानीका स्थानीयवासी केशव चन्दले निकुञ्जले बाघको निगरानीमा बेवास्ता गरेको आरोप लगाए।उनले भने, ‘निकुञ्जमा बाघको संख्या धेरै छ, मानिसको सिकार खोज्दै जतिबेला पनि गाउँ आउने जोखिम बढ्यो, बाघलाई बस्ती प्रवेशमा रोक्न निकुञ्जले निगरानी बढाएको देखिँदैन।’

यस्तै, बराहताल गाउँपालिका वडा नं. ३ का वडा सदस्य रामबहादुर भण्डारी पछिल्लो समय वन्यजन्तु र मानवबीच द्घन्द्घ बढ्दै गएकाले द्घन्द्घ घटाउन निकुञ्जले समयमै काम थाल्नु पर्ने बताउँछन्। बाघको त्राससँगै अन्य वन्यजन्तुबाट समेत हैरानी व्यहोर्नु परेको भण्डारी बताउँछन्।

‘बाघको त्रास त छदै छ अन्य वन्यजन्तु जस्तै बदेल, मृग, जरायो, घोरल, दुम्सीलगायतका जनावरबाट बाली जोगाउनै मुस्किल छ।’ भण्डारी भन्छन्, ‘ज्यान जोखिममा राखेर खेतीवाली जोगाउन रातभर जागराम बस्नुपर्ने बाध्यता छ।

’वन्यजन्तुको आक्रमण न्यूनिकरण गर्न निकुञ्जसँग ठोस योजना नभएको भन्दै राहत मात्र दिएर दिर्घकालिन समस्या समाधान नहुने उनको भनाई छ। निकुञ्जका वन्यजन्तुलाई वस्तीमा आवागमन रोक्नका लागि विधुतिय घेरवार लगाउन माग गर्दै आएको तर, निकुञ्जले आफ्ना कुरा नसुनेको भण्डारीको गुनासो छ।

निदानु दिन वन्यजन्तुले यसै गरी दुख दिन थालेको खण्डमा वस्तीको विकल्प खोज्नु पर्ने बाध्यता आउन सक्ने भण्डारीको भनाई छ। वर्षौदेखि मध्यवर्ती क्षेत्रका स्थानीयवासीले निकुञ्जबाट बाहिरिने वन्यजन्तुको सुरक्षाको व्यवस्था मिलाउन निकुञ्ज कार्यालय, सम्बन्धित स्थानीय सरकार, सल्यान र सुर्खेत जिल्लाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

निकुञ्ज कार्यालयका अनुसार सल्यानबाट नियन्त्रणमा लिइएको समस्याग्रस्त पाटेबाघ १२ वर्ष बूढो हो। बूढो एवं शारीरिक रुपले अशक्त बाघले जङ्गलमा सिकार गर्न नसकेपछि मानिस र पशु चौपायाको खोजी गर्ने निकुञ्जका कर्मचारी बताउँछन्। जसलाई निकुञ्जले ‘समस्याग्रस्त बाघ’का रुपमा उद्वार गर्दै बाँके राष्ट्रिय निकुञ्जमा राखिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा पनि यस्तै समस्याग्रस्त तीन वटा बाघ उद्वार केन्द्रमा राखिएको छ।

निकुञ्जका प्रमुख संरक्षक अधिकृत विष्णुप्रसाद श्रेष्ठले घाँस काट्न गएका स्थानीयवासीलाई आक्रमण गरेपछि बाघको निगरानी बढाएको बताए। ‘उक्त घटनापछि हाम्रो विशेष टोली गेरवानी आसपासमा खटिएर बाघको खोजी गरिरहेको थियो,’ उनले भने, ‘मानिसलाई आक्रमण गर्ने बाघ त्यहीँ क्षेत्र आसपासमा हुन्छ, किनकी बाघ सिकार गरेको क्षेत्रमै रहन्छ, बुधबार बिहान सल्यानमा दुई पशुचौपायालाई मारेपछि पत्ता लगाउन सजिलो भयो।’

गोरु मारेको करिब २०० मिटर दूरीमा रहेको बाँसघारीमा आराम गरिरहेको अवस्थामा बाघ भेटिएको थियो। बाघलाई बेहोस बनाउने सुईको प्रयोग गरी नियन्त्रणमा लिइएको थियो। निकुञ्ज कार्यालयले माथिल्लो भेगमा निगरानी बढाएको दाबी गरेको छ।‘

गस्ती बढाउनुका साथै जङ्गली जनावरको आक्रमणबाट सुरक्षित रहन सावधानी अपनाउन व्यवहार परिवर्तनसम्बन्धी अभियान सञ्चालन गरिरहेका छौं,’ प्रमुख संरक्षक अधिकृत श्रेष्ठलेभने, ‘निकुञ्जसँग जोडिएका बस्तीका मानिस आफै सचेत भएमा यस्ता घटनाबाट सुरक्षित रहन सकिन्छ।’

उनकाअनुसार निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र, सामुदायिक वन जहाँ भए पनि वन्यजन्तुको आक्रमण दिउँसोको समयमा भएकाले सचेत भएमा आक्रमणबाट बच्न सकिने उनको भनाइ छ। निकुञ्ज कार्यालयले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा १३ रणनीतिक योजना बनाएको जनाएको छ। प्रमुख संरक्षक अधिकृत श्रेष्ठले उक्त योजना अनुसार कार्यक्रम सञ्चालन गरी क्षति न्यूनीकरण गर्ने बताए।

तपाईको प्रतिक्रिया