नेपाली नर्स बेलायत पठाउन श्रम सम्झौता

काठमाडौँ। बेलायत र नेपाल सरकारबिच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई रोजगारी प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सोमबार सिंहदरबारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरूलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्नताको वातावरण तयार हुने र जनशक्तिको विकास समेत मद्दत पुग्ने मन्त्रालयले जनाएको छ।

बेलायतमा स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने व्यवस्था मिलाइएको छ। नेपाली स्वास्थ्यकर्मी छनौट, पदस्थापन, सेवा सुविधा सम्बन्धी मापदण्ड हाल छलफलमा रहेको र यससम्बन्धी सबै व्यवस्था जिटुजी प्रक्रिया बमोजिम हुने सचिव अर्यालले बताए।

परिक्षणीको पहिलो चरणमा नेपाली नर्सहरूलाई बेलायतमा पदस्थापन गर्ने कार्यलाई इम्प्लिमेन्टेन्सनको प्रोटोकल स्पष्ट व्यवस्था गरिने र नियुक्ति प्रक्रियाका कुनै शुल्क नलाग्ने एवं रोजगारीका लागि छनौट भएकाहरूको लागतको शोधभर्ना समेत हुने सचिव अर्यालले बताए।

त्यस्तै नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले नेपाली स्वास्थ्यकर्मीहरूलाई बेलायतमा रोजगारी दिन पाउनु खुसीको कुरा भएको भन्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी रहने बताए।

बेलायत सरकारले बेलायतको नेसनल हेल्थ सर्भिसेस अन्तरगतका स्वास्थ्य संस्थाहरूमा काम गर्न १० हजार नेपाली नर्सिङ जनशक्तिको माग गरेको छ। तर, पहिलो चरणमा परीक्षणका रूपमा केही संख्यामा मात्रै नर्सहरू पठाइने मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया