टिपरमा आफैँ आगो लगाएर बोलाए प्रहरी

नेपाल बन्दको बहानामा दाङमा आफ्नै सवारीमा आगजनी गरेको खुलेको छ। मंगलबार बिहान ५ बजेतिर घोराही उपमहानगरपालिका ३ कुइरेपानीको बबई खोलाको पुल नजिक टिपरमा आगजनी भएको थियो।

आगजनीपछि टिप धनी धनेश्वर भण्डारीले प्रहरीलाई खबर गरेका थिए। गोग्लीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको खालि टिपरमा चालक र सहचालकलाई टिपरबाट झारेर बन्दकर्ताले आगजनी गरेर फरार भएको सूचना दिइएको थियो।

जानकारी पाउनासाथ प्रहरी चौकी गोग्ली र वडा प्रहरी कार्यालय घोराहीबाट १० जना प्रहरीले दमकल लगेर आगो निभाएका थिए।

प्रहरीले टिपर धनी, चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालय दाङमा लगेर सोधपुछ गरेको थियो। प्रहरीले अनुसन्धानका क्रममा टिपरमा बन्दकर्ताले नभई आफैं आगो लगाएको खुलेको थियो।

टिपरधनी धनेश्वर भण्डारीले पुरानो भएकाले टिपरमा आगो लगाएको स्वीकार गरेका थिए। टिपर जलाएर बीमा दाबी गर्ने आफ्नो योजना अनुसार चालक र सहचालकलाई उनले निर्देशन दिएको खुलेको छ।

साहुको निर्देशन अनुसार चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले उक्त टिपरमा डिजेल खन्याएर आगो लगाएको खुलेको छ।

उनीहरुविरुद्ध प्रहरीले आपराधिक लाभ शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया