चक्कु प्रहारबाट घाइते गुरुङकाे अवस्था जटिल, काठमाडौं लगिदै

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीमा धारिलो हतियार चक्कु प्रहारबाट घाइते ललित गुरुङको अवस्था जटिल बनेपछि काठमाडौं लिन तयारी गरिएको छ । समान्य विवादमा सोही ठाउँका उपेन्द्र शाहीले मंगलबार ३४ वर्षीय गुरुङलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको हो ।

घाइते गुरुङलाई शुरुमा माया नर्सिङ होम उपचार गरिएपनि चोट लागेको ठाउँबाट रगत बग्न नरोकिएपछि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो ।

तर प्रदेश अस्पतालमा सुधार नभएपछि थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको स्थानीय निर्मल विष्टले नेपालीरैबारकर्मीलाई जानकारी दिए । ‘गुरुङको ढाडमा चक्कु प्रहारबाट गहिरो चोट रहेको र रगत नरोकिएपछि थप उपचारर्थ काठमाडौंको ग्राण्डी अस्पतालमा लिने तयारीमा छौं,’ विष्टले भने ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले चक्कु प्रहार गर्ने शाही घटना लगत्तै फरार रहेको जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको र फरार व्यक्तिको खोजीमा प्रहरी लागेको जनाए ।

तपाईको प्रतिक्रिया