
बर्दिया। गए रातिदेखि परेको अविरल वर्षाको कारण बबई नदीमा पानीको बहावले खतराको तह पार गरेको छ। चेपाङका बबई नदी बाढी मापन केन्द्रमा सतर्कता तह ६.१० मिटर रहेकोमा बिहान सतर्कता तह भन्दा बढी ६.१५ मिटर पुगेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जानकारी दिएको छ।
यो तह भनेको खतराको तह भन्दा माथि हो। साथै अझ नदी बढ्ने क्रममा रहेको भन्दै प्रशासनले सावधानी अपनाउन अनुरोध गरेको छ। यसबाट बबई नदीका सहायक नदीमा समेत बाढीको उच्च खतरा रहेको हुँदा तटकिय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहँदै सुरक्षित स्थानमा रहन जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ।
साथै नदीमा बगेर आउने काठ दाउरा संकलन र माछा मार्न समेत नदीमा नजान अनुरोध गरेको छ। विषम परिस्थितिमा आइपर्ने समस्याबाट जोगिनका लागि अफ्ठेरोमा परे जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, रेडक्रस र जिल्ला आपातकालीन कार्य सञ्चालन सम्पर्क गर्न अनुरोध गरिएको प्रशासन कार्यालयले जनाएको छ।

हरिवंश पाण्डे । २०७९ भाद्र १३, सोमबार