नेपाल प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी एआईजी थापालाई

काठमाडौँ।  नेपाल प्रहरीको निमित्त प्रहरी प्रमुखको जिम्मेवारी अतिरिक्त महानिरीक्षक सहकुल थापाले पाएका छन्। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अमेरिका प्रस्थान गरेपछि उनलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन्।

कार्य विभागमा कार्यरत थापा हालका एआईजी मध्ये सिनियर हुन्। आईजीपी सिंहले सिनियर एआईजीलाई नै निमित्त दिएका हुन्। यसअघि शैलेश थापाले कनिष्ठ एआईजीलाई निमित्त प्रमुखको जिम्मेवारी दिँदा आलोचना भएको थियो।

थापाले आफ्नै ब्याचका एआईजी हरि पाल हुँदाहुँदै उनीभन्दा जुनियर विश्वराज पोखरेल र अर्को पटक निरज शाहीलाई निमित्त प्रमुख बनाएका थिए।

आफूभन्दा जुनियरलाई निमित्त प्रमुखको जिम्मेवारी दिएपछि आईजीपी हाजिर नहुन्जेल एआईजी पाल बिदामा बसेका थिए। तर सिंहले भन्दै सिनियरलाई नै जिम्मेवारी दिएका हुन्।

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा भदौ १५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने युनाइटेड नेशन चिफ अफ पुलिस समिटमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्। नेपाल प्रहरी प्रमुख सिंहसँगै सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल पनि त्यसतर्फ प्रस्थान गरेका छन्।

आईजीपीलाई बिदा गर्न एआईजी थापासहित अन्य एआईजी तथा डीआईजीहरु सोमबार अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

तपाईको प्रतिक्रिया