लामिछाने मृत्यु प्रकरण : कर्मचारी रिहाइकाे माग राख्दै वनका कर्मचारी आन्दाेलित

सुर्खेत। नेपाल वन प्राविधिक संघ (एनएफए) सहित विभिन्न कर्मचारी संगठनहरु सुर्खेतमा नियन्त्रणमा लिइएका वन कर्मचारीको रिहाई माग गर्दै आन्दोलनमा उत्रिएका छन् । यहीँ भदौ २ गते डिभिजन वन कार्यालय, सुर्खेतको वन अपराधको अनुसन्धानका क्रममा थुनुवा कक्षमा रहेका बेला ५८ वर्षीय धनीराम लामिछानेको मृत्यु भएपछि वन कार्यालयका चार जना कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । लामिछानेले आत्महत्या गरेको वन कर्मचारीहरुको दाबी छ ।

वीरेन्द्रनगर नगरपालिका–१३ को भुतचाेकमा भएको अवैध काठ कटानीमा भएको र त्यसमा लामिछानेको संलग्नता भएको दाबीसहित नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइरहेका बेला लामिछानेको मृत्यु भएको थियो ।

उनको मृत्युपछि सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वनरक्षकहरु पियुसराज तिवारी र सुरेन्द्र रानालाई नियन्त्रणमा राखिएको छ । वन कर्मचारीहरुले उनीहरुको निसर्त रिहा गर्न माग गरेका छन् ।

एनएफएसहित विभिन्न वन संगनठन र कर्मचारी संगठनले भदौ २ गतेदेखि नै काठमाडौंको बबरमहलस्थित वन परिसर र ७ वटै प्रदेशको वन मन्त्रालय र प्रदेश निर्देशनालयमा आन्दोलन गरिरहेका छन् । उनीहरुले लामिछानेको मृत्युको विषयलाई अतिरन्जित नगर्नसमेत आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया