सुर्खेत विमानस्थल विस्तार गर्न सहमत छु, माहोल बनाउनुहोस् : अर्थमन्त्री शर्मा

सुर्खेत । विगत लामो समयदेखि चर्चामा रहेको सुर्खेत विमानस्थल विस्तार कार्यमा आफू सघाउन सहमत रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । नयाँ विमानस्थल विस्तारभन्दा हालको विमानस्थल विस्तार गर्दा कम खर्चिलो हुने भन्दै विस्तार कार्यका लागि माहोल बनाउन शर्माले आग्रह गरेका हुन् ।

सुर्खेत उद्योग बाणिज्य संघले आयोजना गरेको अन्तरक्रियामा बोल्दै शर्माले कर्णालीबासीले केन्द्रीय राजधानी जान महंगो भाडा रहेकाले हाल सञ्चालनमा रहेको विमानस्थल विस्तार गर्न जरुरी रहेको उल्लेख गरे ।

‘पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकै पालामा विमानस्थल विस्तार अघि बढाइएको हो । हाल विविध कारणले रोकिएछ,’ अर्थमन्त्री शर्माले भने, ‘विस्तारको क्रममा देखिएको विवाद सुल्झाउन नीजि क्षेत्रले साथ दिनुभयो भने बजेटको व्यवस्था गरेर अघि बढ्न तयार छु ।’

संघका अध्यक्ष लक्ष्मण कँडेलले प्रदेश राजधानीलाई केन्द्रीय राजधानीसँग जोड्ने पूर्वाधारयुक्त विमानस्थल नहुँदा कनेक्टीभी महंगो भाडामा कर्णालीबासी हवाई यात्रा गर्न बाध्य रहेको जानकारी गराए ।

‘सानो रनवेका कारण ठूला जहाज नआउँदा भाडा त महंगो छ नै व्यापार व्यवसायलाई थप स्तरवृद्धि गर्न सकिएको छैन्,’ कँडेलले भने, ‘चार सय मिटर रनवे बढाएमा ठूलो जहाज आउन कुनै समस्या छैन्, यसमा केन्द्रीय सरकार गम्भीर बन्न ध्यानाकर्षण गराउन चाहान्छु ।’ कर्णालीको समृद्धि र कर्णालीको कनेक्टीभीटीका लागि विमानस्थल विस्तार नै अन्तिम विकल्प भएको माग अध्यक्ष कँडेलले राखेका थिए ।

तपाईको प्रतिक्रिया