शिक्षकलाई निशुल्क कम्प्युटर तालिम

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीलाई निशुल्क आधारभूत तहको कम्प्यूटर तालिमको शुभारम्भ गरिएको छ।

उक्त विद्यालयका प्रधानाध्यापक बामदेव ढकालले तालिमको शुभारम्भ गरेका हुन्। विद्यालयको आन्तरिक व्यवस्थापनबाट व्यवाथपन हुने गरि विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालयमा कार्यरत १६ जना शिक्षक कर्मचारीलाई तालिम दिइएको हो।

उनिहरुलाई विद्यालय समयको अतिरिक्त समय बेलुका ४ बजेदेखि ५ बजेसम्म हरेक दिन एक घण्टाको समयले एक महिनासम्म बेसिक तहको कम्प्युटर कक्षा विद्यालयकै कम्प्युटर प्रयोगशालामा दिइने विद्यालयले जनाएको छ।

स्थानीय कम्प्युटर इन्स्टिच्युटका प्रशिक्षकबाट सहजीकरणमा सञ्चालन गरिने गरि व्यवस्था मिलाएर कम्प्युटर तालिमको सुरूवात गरिएको प्रधानाध्यापक ढकालले जानकारी दिए।

यस्तै, समय सापेक्ष अहिलेको प्रविधि युक्त समयमा शिक्षक कर्मचारीको पेशागत दक्षता र विकासको आवश्यकतालाई मध्यनजर गर्दै भावी दिनमा प्रविधिको प्रयोग गरेर शिक्षण कार्य गर्ने उद्देश्यका साथ यो तालिमको सुरुवात गरिएको हो।

आफूले विद्यालय व्यवस्थापन समिति, स्थानिय सरकार लगाएत सम्बन्धित निकायमा आवश्यक उपकरणका लागि माग गर्दै आएको र शिक्षक कर्मचारीहरुले कक्षाकोठामा प्रविधिको प्रयोग गर्न सक्षम भएको अवस्थामा त्यसको व्यवस्थापन गर्ने थप सहज हुने प्रअ ढकालको भनाई रहेको छ।

झण्डै ६ दशक अघि विद्यालय स्थापना भए पनि विद्यालयको समग्र विकास भने समयसापक्ष नभएको अनुभव गर्दै पछिल्लो समय सबैको ध्यान विद्यालयको समग्र विकास गरि भावी दिनमा स्थानीय नागरिकका छोराछोरीलाई उच्च शिक्षाका लागि बाहिर जानु नपरोस भन्ने उद्देश्यले विद्यालयको समग्र विकासमा आफू लागि परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ठाकुरबाबा–९ वडा अध्यक्ष राधा चौधरीले बताइन्।

तपाईको प्रतिक्रिया