तटबन्धको जालीमा भ्रष्टाचार, तत्कालीन वडाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा

सुर्खेत। भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेर बहादुर श्रेष्ठ र सव-इन्जिनियर दान वहादुर बुढ्थापासहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले मुगुको सोरु गाँउपालिका ४ स्थित दैरीखोला रावलवाडा तटबन्धन आयोजनाको झुट्टा विल भरपाई बनाई मूल्याङ्कनभन्दा बढी भुक्तानी दिई श्रेष्ठ र बुढ्थापाले उपभोक्ता समितिसँग मिलेर १८ लाख १० हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको हो।

यस्तै, तटबन्धन निर्माण उपभोक्ता समितिका अध्यक्ष हस्तविर दमाई, सचिव लोकजङ्ग दमाई र कोषाध्यक्ष भिमलाल दमाईविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ। उनीहरुले आयोजनाको लागत अनुमान अनुसारको कार्य नगरी प्रहरीमार्फत स्थलगत अवलोकन नगराई जाली बाढीले बगाएको भन्ने झुट्टा सर्जमिन मुचुल्का तयार पारी भुक्तानी लिएको दायरपत्रमा उल्लेख छ।

यस्तै तत्कालीन वडाअध्यक्ष डवले शाहीले उपभोक्ता समितिमार्फत भएको कार्यको इस्टिमेट अनुसारको कार्यसम्पन्न भएको छ/छैन भन्ने जानकारी नै नलिई योजनाको काम सम्पन्न भएकोले भुक्तानी गरिदिन भनी सिफारिस गरेको र आफ्नो रोहवरमा घटनाको अवलोकन नगरी जाली बाढीले बगाएको भन्ने झुठ्ठा सर्जमिन मुचुल्का गरी भुक्तानीका लागि सिफारिस गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्घारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ।

उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको ठहर गर्दै विगो मागदावी र कैद सजायसहित विशेष अदालतमा मुद्दा दायर भएको हो।

तपाईको प्रतिक्रिया