दैलेख–२ मा एमालेबाट पाँच जनाकाे नाम सिफारिस

सुर्खेत । नेकपा एमालेको बाहुल्यता रहेको दैलेख क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभातर्फ उम्मेदवारीका लागि सो पार्टीबाट ५ जनाले दाबी गरेका छन्। पार्टीको प्रभाव राम्रो रहेका कारण उम्मेदवारीका लागि पनि नेताहरुबीच हानथाप देखिएको हो।

शनिबार दुल्लुमा बसेको प्रतिनिधिसभा समन्वय समितिको बैठकले उम्मेदवारीका लागि ५ जनाको नाम सिफारिस गरेको छ। सिफारिस हुनेमा हाल कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, प्रतिनिधिसभा सदस्य समेत रहेका राजबहादुर बुढा, जिल्ला इञ्चार्ज लक्ष्मी पोखरेल, एमाले प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाह र एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाल छन्।

पाँच वटा पालिका पर्ने यो क्षेत्रबाट पाँच जनाले नै प्रतिनिधिसभाको उम्मेदवारमा दाबी गरेपछि पाँचै जनाको नाम केन्द्रमा सिफारिस गर्नुपरेको एक नेताले बताए। पाँच पालिकामध्ये पोखरेल दुल्लु नगरपालिकाका हुन् भने रिजाल भैरवी गाउँपालिकाका हुन्। यस्तै बुढा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका हुन् भने समामुख शाही र विनोद शाह ठाटीकाँध गाउँपालिकाका हुन्। आठबीस नगरपालिकाबाट भने कुनै नेताले उम्मेदवारी दिएका छैनन्।

यो क्षेत्रबाट उम्मेदवारीका लागि एमालेका पाँच आकांक्षीमध्ये सभामुख शाही र युवा नेता रिजालमध्ये एक जनाले टिकट पाउने सम्भावना प्रबल रहेको नेताहरु बताउँछन्। किनकि हाल प्रनितिधिसभा सदस्य समेत रहेका बुढाले आफ्नो क्षेत्रको लागि कुनै उदाहरणीय काम गर्न नसकेको भन्दै कार्यकर्ता पंक्तिमै निराशा छ। उनी ०७४ मा २३ हजार ३२३ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका शिवराज जोशीले १६ हजार ६३४ मत प्राप्त गरेका थिए। जबकि उनलाई त्यो बेला माओवादीले साथ दिएको थियो।

यस्तै जिल्ला इञ्चार्ज पोखरेल ०७० सालको संविधानसभाको निर्वाचनमा विजयी भएका थिए। नयाँलाई अवसर दिनुपर्ने पक्षमा जिल्लामा कार्यकर्ताहरुको जोड रहेको बताइन्छ । त्यसैले अहिले नयाँले उम्मेदवारीको अवसर पाउने सम्भावना देखिन्छ।

युवा नेता रिजाल पहिलो पटक चुनावमा भाग लिने तयारीमा छन् भने ०७४ मा प्रदेशसभा जितेर सभामुख बनेका राजबहादुर शाहीले पनि पहिलो पटक प्रतिनिधिसभामा लड्ने तयारी गरिरहेका छन्। प्रदेश अध्यक्षसमेत रहेका विनोदकुमार शाह ०५६ सालमै उम्मेदवार बनेर पराजित भएका थिए।

लामो समयसम्म पार्टीभित्र जिम्मेवारी नपाएका उनी अहिले प्रदेश अध्यक्ष बनेका छन्। उनले अन्य नेताहरुलाई मिलाएर लैजानुपर्ने बाध्यता पनि रहेकाले आफै उम्मेदवार बन्नुभन्दा पनि सबै पक्षलाई कसरी ‘स्पेस’ दिने भन्नेतर्फ नै उनको बढी भूमिका रहने देखिन्छ। सम्भवतः उनी समानुपातिकमा जान सक्ने पनि नेताहरुको आकलन छ।

तपाईको प्रतिक्रिया