जिन्दगीको यत्रो बसन्त पार गर्दासम्म आफ्नो मनले खाएको मान्छे भेटिएको थिएन। तर, यो सालको बसन्त ऋतु मेरो लागि साँच्चै नै हराभरा बनेर आयो।आफूले खोजें र रोजे जस्तै मान्छेको संगत गर्ने मौका मिल्यो।
आफूले चाहेको र माया गरेको मान्छे सँगको केहीदिनको संगत पछि मलाई यस्तो लाग्न थाल्यो, हाम्रा प्राय धेरै कुराहरु मिल्छन्, हामी एक त होइनौं तर, हामी दुई जस्तो पनि छैनौं। भौतिक रुपमा मात्र टाढा छौ हामी। तर, पनि हामी बिल्कुल उस्तै छौ। उस्तै सोच। उस्तै रोजाई। उस्तै एहसास। थाहा छैन किन तर मलाई उसको बारेमा लेख्न खुब मन पर्छ।
उ मेरो कोहि हैन तर पनि उ मेरो सबथोक हो। उ बिना मर्ने हैन म। तर, सास चल्नुलाई मात्र पनि त बाँचेको भन्न मिल्दैन। उ बिना खुशी हुन नसक्ने हैन म तर देखावटी हाँसोलाई त खुशी भएको भन्न मिल्दैन। उस्ले मलाई खुशी हुन सिकाएकी छे, उस्ले मलाई आफुलाई सम्हाल्न सिकाएकी छे। या भनम उस्ले मलाई जिन्दगी के हो सिकाएकी छे। उ मेरो जीवनसाथी बनी सकेकि त छैन, तर जीवनसाथी भन्दा कम पनि छैन्।
कोही मान्छे साँच्चै नै कसैको जिन्दगीमा सुन्दर बहार नै बनेर आउने रैछन्। जस्तै ‘तिमी’। तिमी त्यो मञ्जिल हौ जसलाई हासिल गर्न म उडान भरिरहेको छु। तिमी त्यो लक्ष्य हौ जसलाई पाएर मेरो जीवन अर्थपूर्ण हुन्छ।
मलाई साँच्चै थाह छैन्। किन तर, म तिमीमा एउटा सिंगो पुस्तक पाउँछु। जहाँ प्रेम, मित्रता, खुशी, मुस्कान इज्जत सबै समेटिएको छ। यस्तो लाग्छ यो पुस्तक आफ्नै हृदयको पुस्तकालयमा सजाएर राखौं युगौयुगको लागि र म त्यो पुस्तकको हरेक शब्दहरूलाई प्रतेक सेकेण्ड पढिरहुँ।
तिम्रो स्पर्शको कल्पनाले मात्र पनि मलाई कताकता काउकुती लागे जस्तै हुन्छ। तिम्रो अंगालोको सम्झनाले मात्र पनि मलाई न्यानोपनको आभास दिलाउछ। तिमी नजिक त छैनौ। तर, पनि मेरो हरेक सोचहरु तिमी र मबाट हामी हुन गएर रोकिन्छ। मलाई प्रष्टसँग थाहा छ। सानू तिम्रो प्रेममा बस! मेरो मात्र अधिकार लेखिएको छ।
तर, मलाई अब तिम्रो शरीरको मोह बढ्दै छ। यो बेमान मौसमले मलाई तिम्रो अघि बेसरम हुने चाहत झन्झन बढाउँदै छ। मलाई यो प्रष्टसँग थाहा छ कि म तिम्रै हुँ। अनि तिमी मेरै।
हरेक झरीसँगै तिम्रो मिठो याद आउने गर्छ। चिसो बताससँगै तिम्रो त्यो सुन्दर अनुहार, तिम्रा ती आत्मीय भाव म यही महसुस गर्छु। सायद शिशिर यामको पतझडसँगै आशाहरु पलाउन थालेका छन्। बादलको छाती चिरेर जब झरी पर्छ, मलाई तिमी जस्तै लाग्छ। त्यो शितल शान्त झरी जुन एकनासले झर्दैछ। निरन्तर मात्र मेरो लागि जसरी तिमी छाएकी छौ। मेरो मन मस्तिस्कमा एउटा नयाँ किरण बनेर अघि बढ्नेहरुको लागि के यही माया अजम्बरी होइन र?
एक तिमी त छौ मेरो बोली सुनेर मेरो हाल बुझ्ने, मेरो आँखा हेरेर मेरो हाल बुझ्ने, एक तिमी त हौ मेरो मौनता पढ्ने, मेरो ओठ नबोले पनि मेरो हाल बुझ्ने , तिमी मेरो आधा हौ। जस्ले गर्दा म पूरा हुन्छु हावाको स्पर्शले तिम्रो आभास दिलाउछ, जुनको शितलतामा मात्र तिमीलाई पाउँछु, सिरानीको न्यानोपनले तिम्रो अंगालोको खुब याद दिलाउँछ।
प्रिय, तिमी वास्तवमै मेरो प्रेरणा हौँ। आदर्श हौ। पूजा हौ। श्रद्धा हौ र माया हौ। तिम्रो शालीनता, सरलता, वैचारिक व्यापकता, निर्दोषिता र निश्कलङ्कता नै मेरो लक्ष्य भएको छ।
म तिमीलाई संसारका सारा खुसीहरु अञ्जुली भरी थमाईदिन्छु भन्ने दाबी गर्दिनँ। किनकि आकाशका तारा टिप्ने दिवास्वप्न भन्दा बगैँचामा फूलेको एउटा सानो शिरफूल सिउरिदिने यथार्थतामा मलाई बढी आनन्द लाग्छ। तर, तिमी मधुमालती अनि म मधुकर बनी कल्पनाको वायुपंखी घोडामा सवार भई बादलपारीको देशमा सयर गर्ने सपना भने देख्न छाड्दिनँ।
तिमी मेरो हात यसरी थामिदिनु जसरी तिमी बाहेक मलाई अरुको आवस्यकता नै नपरोस जब म विगत सम्झेर आतिन्छु तब तिमी मेरो प्रेरणा बनिदिनु, मलाई सम्हालिदिनु। मलाई तिम्रो अंगालोमा राखेर खुब प्रेम गर्नु र सम्झाउनु। तिमीसँगको नयाँ सुरुवात नै मेरो जीवनको अन्तिम सुखद पक्ष हो।
हरेक पटकको भेटपछि हरेक पटकको संवादपछि अझ प्रेम बढेको एहसास हुन्छ। थाहा छ तिमीलाई तिमीसँग भेटेपछि म साह्रै प्रेमिल हुन थालेको छु। हरेक दिन आउने यो चौबीस घण्टाको समय तिमीलाई सम्झिनका लागि एक पलजस्तो मात्र लाग्छ। यी सपनाजस्ता दिन तिम्रै झझल्कोमा बित्दै–बित्दै जान्छन्। मेरो हृदयको दृष्टि जहाँसम्म पुग्छ। म तिमीलाई त्यहाँसम्म देख्छु।
जिन्दगीको हर मुस्किल पनि सहजै काटिदिउँ जस्तो लाग्छ। जब तिमी प्रेमिल स्वभावले चिन्ता नलिउँ म छु नि तिम्रो लागि भनेर सम्झाउँछौ। आफुलाई नियाल्छु फेरि तिमीलाई नियाल्छु यस्तो लाग्छ तिमी वास्तवमा नै मेरो लागि ईश्वरीय वरदान हौ प्यारो मान्छे।
अन्ततः क्षितिज पारीबाट हरेक शब्द–शब्दमा हरेक प्रहरहरुमा तिमीलाइ भरपुर प्रेमको आभाष र सामिप्यताको महसुस गराउन भलै नसकुला मैले तर वचन भयो प्यारी, तिमीलाई एक्लोपनको दबाब र मायाको अभावले कहिल्यै छट्पटीन दिने छैन्।
बाल गोपाल देवकोटा । २०७९ भाद्र ३१, शुक्रबार