सल्यान जीप दुर्घटना अपडेट : मृतक ८ को पहिचान खुल्यो

सुर्खेत । सल्यानको कपुरकोटमा जीप दुर्घटनाबाट मृतक ८ जनाको पहिचान खुलेको छ। बाँकेको ढकेरीबाट छुटेको जीप राप्ती राजमार्ग अन्तरगत सल्यानको कपुरकोट गाउँपालिका-३ मूलपानी नजिक बुधबार बिहान साढे ३ बजे दुर्घटनामा पर्दा ८ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा परेको रा १ ज ५६३ नम्बरको जीपमा नौ जना सवार थिए। सवार ९ जनामध्ये एक जना घाइते भएका छन्।

सल्यान प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा धेरै जसो कपुरकोट गाउँपालिका ६ का रहेका छन्। जसमा जीप चालक जलवाङका २१ वर्षीय जितबहादुर बोहोरा, ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली र उनका छोरा ११ वर्षीय वसन्त ओली छन्।

यस्तै, कपुरकोट गाउँपालिका ६ कै ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली, र कपुरकोट गाउँपालिका ५ का ३५ वर्षीय ललित ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

यस्तै, दुर्घटनामा घाइते कपुरकोट ६ का ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल तुलसीपुरमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ लगिएको हो।

तपाईको प्रतिक्रिया