‘लोड पेनाल्टी’ का नाममा कर्णालीका नागरिकबाट चर्को भाडा असुल्दै बुद्ध एयर

सुर्खेत । चाडपर्वको मौका पारी बुद्ध एयर कर्णालीका नागरिकको ढाँड सेकेको छ। काठमाडौंदेखि सुर्खेत हवाई भाडा काठमाडौं–दिल्लीभन्दा महंगो छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ। तर, यो यथार्थ हो। निजी क्षेत्रको सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको राजधानी नयाँ दिल्लीभन्दा काठमाडौं–सुर्खेत भाडा महंगो गरेपछि यति बेला कर्णालीवासी आक्रोसित बनेका छन्।

अनलाइन टिकट बुकिङ्गमा १ घण्टा ४५ मिनेटको दुरीमा रहेको दिल्लीसम्मको टिकट १४ हजारमै उपलब्ध छ, भने सोही एयरकै सुर्खेत–काठमाडौंको भाडा भने १४ हजार ८ सय ९५ रुपैयाँ रहेको छ। जबकी काठमाडौं सुर्खेतको हवाई दुरी १ घण्टा हो। सामाजिक सञ्जालमा चाडपर्वका बेला अस्वभाविक भाडा बृद्धि गरिएपछि बुद्ध एयरको चौतर्फी आलोचना भएको छ।

कर्णालीलाई संघीय राजधानी काठमाडौंसँग हवाई सेवामा जोड्दै आएको एकमात्र बुद्ध एयरले लोड पेनाल्टीका नाममा नागरिकको ढाँड सेकिने गरी भाडा असुल्ने गरेको नागरिकको गुनासो बढेको छ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत बुद्ध एयरले मनलाग्दी असुल्दै आएको भाडा नियमन गर्न सरकारसँग माग गरेका छन्। ४२ सिटे जहाजमा एकहप्ता अघिसम्म ११ हजार लिने गरेको बुद्धले अहिले चाडपर्वको अवसरमा टिकट प्याक भएको बहानामा १५ हजार लिने गरेको भन्दै कँडेले विरोध जनाएका छन्।

उनले लेखेका छन्, ‘के एउटै सामानको मुल्य कहिले कति कहिले कति राखेर बेच्न पाईने हो? बढी बिक्री हुन लाग्यो भनेर बढाउने र कम हुन लाग्यो भनेर घटाउने हुन्छ?’ हवाई भाडामा मनलाग्दी मूल्य निर्धारण गरे यातायात व्यवसायी र अन्य व्यवसायीले आफू खुशी मूल्य बढाए सरकारले के गर्ने? कँडेलको प्रश्न छ

। प्रदेश सरकारप्रति आक्रोस पोख्दै कँडेलले भाडा समायोजन गरी कम्तीमा ७० प्रतिशत सिट सस्तो मूल्यमा पाउने व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्। दुवै रुटमा यात्रु प्याक हुँदासमेत बढी भाडा तिर्नुपर्ने बुद्धको व्यवसायिक छुटमाथी कँडेलले टिप्पणी गरेका छन्।

यस्तै, सुर्खेत–काठमाडौं, काठमाडौं–सुर्खेत रुटको दिर्घकालिन भाडाको समस्या समाधान गर्न परिक्षण उडान सफल भई सकेका अन्य कम्पनीलाई उडान भर्न ताकेता दिइनु पर्नेमा उनको जोड छ। कर्णालीका नागरिकप्रति राज्य गम्भिर हुन नसक्दा वर्षेनी चाडपर्वका बेला नागरिकले सास्ती व्यहोर्नु परेको छ ।

यस्तै वीरेन्द्रनगर–८, का धर्मराज आचार्यले पनि बुद्धले मनलाग्दी तोकेको भाडा दर अस्वभाविक रहेकाले नियमन गर्नुपर्ने बताए। उनी भने, ‘चाडपर्वका बेला यात्रुलाई सहुलियत दिनुको साटो दोब्बर भाडा लिने बुद्ध एयरको विकल्प खोज्नु पर्छ, परिक्षण उडान गरेको गुण एयरलाईन्सलाई दबाब दियर हुन्छ या सहुलियत दिएर हुन्छ भाडादर न्युनतम बनाउनु पर्छ।’

तर, बुद्ध एयर भने यो कुरा मान्न तयार छैन्। बुद्धका प्रतिनिधि दिपेन्द्र कर्णले भाडा बढाइएको भनेर आएका समाचार निराधार रहेको बताए। कर्णले भने, ‘भाडा निर्धारण हामीले गर्ने होइन, प्राधिकरणले गर्ने हो, प्राधिकरणले तोकेको भाडाभन्दा हामीले १ रुपैयाँ बढी लिदैनौं।’

कर्णालीका नागरिकलाई हवाई सेवामा सहजता ल्याउन एकतर्फि नियमित उडान भर्ने गरेको भन्दै चाडपर्वका बेला सिट खाली हुँदा ‘लोड पेनाल्टी’ मिलान गर्न र इन्धनमा भएको मूल्य समायोजनले भाडा महंगो परेको कर्णको भनाई छ। धावन मार्गका कारण ठुला जहाज अवतरण हुन नसक्नुले पनि भाडा महंगो पर्न गएको उनले स्पष्ट पारे।

कर्णका अनुसार दशैंका कारण यात्रुको संख्या कम हुँदा बढेको भाडा १०/१५ दिनमै पहिलेकै अवस्थामा कायम हुनेछ।

यस्तै, नेपाल नागरिक उड्ययन प्राधिकरणले सुर्खेत–काठमाडौं भाडा दर न्यूनतम ११ हजार ४ सय तोकेकोमा असोज २८ गतेका लागि बुद्धले ८ हजार ५ सयदेखि १४ हजार ८ सय ९५ सम्म टिकट दर तोकेको छ।

हालको धावनमार्गलाई उत्तरतर्फ विस्तार गरेर एक हजार ५ सय ५५ मिटर पु¥याउँदा ७० देखि ८० सिटे ‘एटिआर ७२’ जहाज अवतरण गराउन मिल्ने गरी धावनमार्ग विस्तारको योजना अगाडि सारिएको थियो। तर, स्थानीयको अवरोधपछि सो योजना स्थगित भएको छ।

हाल सुर्खेत विमानस्थलमा ४० सिटे ‘एटिआर ४२’ जहाज मात्रै अवतरण हुने गरेको छ। काठमाडौं–सुर्खेत सिधा उडानका लागि केही समय अघि गुण एयरले ७२ सिटे जहाजको सफल परिक्षण उडान गरेको थियो। तर, हाल बुद्धसँग प्रतिस्पर्धा गर्न नसक्दा गुणले नियमित उडान स्थगित गरेको अवस्था छ।

तपाईको प्रतिक्रिया