दसैँमा भारी वर्षा हुने माैसमविद्काे प्रक्षेपण, पूर्वतयारीसहित सतर्कता अपनाउन आग्रह

काठमाडाै‌ । यस वर्ष दसैँको अवधिमा देशका अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको विभागले जनाएको छ ।

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष मनसुन केही दिन ढिला बाहिरिने सम्भावना देखिएको मौसमविद्ले जानकारी दिएका छन् । हाल बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा आगामी मंगलबार अर्थात नवमीका दिनदेखि नेपालमा प्रभाव पार्ने गरी भित्रिने र त्यसाे हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको हो ।

नवमीका दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागद्वारा दसैँका लागि जारी विशेष मौसमी बुलेटिनमा उल्लेख छ ।

यस्तै दसैँका दिन देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

एकादशीका दिन देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थानहरूमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ ।

द्वादशीका दिन देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ ।

दसैँका बेला देशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन विभागले आग्रह गरेकाे छ ।

यस्तै आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली रहनेछ ।प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया