नेपाली जगतलाई टुहुरो बनाएर गए सत्यमोहन

काठमाडौं।  शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा जोशीको उपचारको क्रममा आइतबार बिहान निधन भएको हो।

जोशी निकट पत्रकार गिरीश गिरीले आइतबार बिहान ७:३० बजे उपचारको क्रममा उनको निधन भएको बताए। जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो। उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। रगत जाँच गर्दा जोशीमा डेंगु संक्रमण पुष्टि भएको थियो।

जोशीको निधनप्रति थुप्रैले दु:ख व्यक्त गरिरहेका छन्। वि. सं. १९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा जन्मेका जोशीको नेपाली लोक संस्कृतिका क्षेत्रमा ठूलो योगदान छ। जोशीले पटक-पटक गरेर तीन पटक मदन पुरस्कार जितेका थिए।

पहिलोपटक वि. सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक वि. सं. २०१७ सालमा र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक वि. सं. २०२८ सालमा गरेर जोशीले तीन पटक मदन पुरस्कार प्राप्त गरेका थिए।

उनले वि. सं. २०१३ सालमा लोकसंस्कृतिमा मदन पुरस्कार प्राप्त गरेका हुन्। जोशी वि. सं. २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक भएका थिए। उनले वि. सं. २०१६ सालमा पाँचौं शताब्दीदेखि बिसौं शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको नेपाली मुद्रा नामक पुस्तक प्रकाशित गरेका थिए।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको थियो। नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो।

जोशीको निधनप्रति दु:ख व्यक्त गर्दै मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीले नेपाली साहित्य, संस्कृति र वाङ्मय क्षेत्रकै सिङ्गो युग १०३ वर्षको उमेरमा ढलेको खबरले दुखी तुल्याएको बताएका छन्। ‘उहाँको स्वर्गारोहणले नेपाली साहित्यको लामो र जिउँदो युगको मात्रै अन्त्य भएको छैन, सांस्कृतिक इतिहासको एउटा दुर्लभ सगरमाथासमेत ढलेको छ,’ जोशीले भने। जोशीको निधनले समग्र नेपाली वाङ्मय जगत टुहुरो भएको उनी बताउँछन्।

वरिष्ठ साहित्यकार विष्णुविभु घिमिरे नेपाली संस्कृतिको उत्थानका लागि जोशी भिष्मपितामह जस्तै भएको बताउँछन्। ‘उहाँ सबैको भिष्मपितामह जस्तै हो। स्वस्थ भावनाको मान्छे हुनुहुन्थ्यो। उहाँबाट हाम्रो पुस्ताले धेरै संस्कार र संस्कृति ग्रहण गरेको छ,’ उनले भने।

सबैसँग पुस्तासँगै उत्तिकै घुलमिल हुनसक्ने जोशीमा अद्भुत क्षमता रहेको घिमिरे बताउँछन्। ‘उहाँ हरेको पुस्तासँग घुलमिल भएर मित्रवत व्यवहार गर्नुहुन्थ्यो। कुनै कार्यक्रममा नयाँ पुस्ताले प्रमुख अतिथिका लागि आग्रह गर्दा उहाँ सहजै ग्रहण गर्नु हुन्थ्यो। प्रमुख अतिथिको रुपमा कार्यक्रममा उपस्थित भएर हाम्रो संस्कृतिको बारेमा ज्ञान प्रदान गर्नुहुन्थ्यो,’ उनले भने। जोशीको निधनको अपुरणिय क्षेतिको तुलना जोशीसँगमात्रै हुने घिमिरे बताउँछन्।

तपाईको प्रतिक्रिया