सन्दीपको बयान : किशोरीले फोन काटेर म्यासेज पठाइन्, झुट बोल्दा नराम्रो सोच्छन् भन्दा ‘डन्ट वरी म सेफ छु’

काठमाडौँ । सन्दीप लामिछानेले बलात्कार गरेको आरोपमा सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। उनलाई १० देखि १२ वर्षसम्म कैद गर्न माग गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले अभियोजन पत्र दायर गरेको हो।

उनीविरुद्ध परेको जाहेरीको आधारमा प्रहरीले अनुसन्धान सकेर अघिल्लो शुक्रबार नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा वकिल कार्यालयले मुद्दा दायर गरेको हो।

आफूमाथि लागेको आरोपको सन्दीपले भने अस्वीकार गरेका छन्। यसअघि सरकारी वकिल कार्यालयले गराएको बयानमा उनले आरोपको खण्डन गरेका हुन्।

सन्दीप विगत ७ वर्षदेखि व्यवसायिक रुपमा क्रिकेट खेल्दै आएका छन्। सन् २०१६ देखि उनी राष्ट्रिय टोलिबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका हुन्। सन् २०२१ डिसेम्बरमा उनी राष्ट्रिय टोलीको कप्तान भएका थिए।राष्ट्रिय टिमकै देव खनालसँग चिनजान भएकी किशोरीले सन्दीपमाथि बलात्कारको आरोप लगाएकी थिइन्। सन्दीपले पनि खनाल मार्फत नै ती किशोरीलाई चिनेको बयान दिएका छन्।

देव खनालले सन्दीपसँग खिचेको फोटो ती किशोरीलाई पठाएका थिए। किशोरीले नै स्न्यापच्याटमा आफूलाई फ्रेन्ड रिक्वेस्ट पठाएको उनको बयान छ। टिमकै अन्य पनि उनीसँग साथी रहेको थाहा पाएपछि आफूले रिक्वेस्ट एसेप्ट गरेको सन्दीपको बयान छ।

किशोरीले पटक पटक आफूलाई फोटो र भिडिओ पठाउने गरेको तर आफूले सामान्य उत्तर मात्रै दिने गरेको सन्दीपले बताएका छन्। कुराकानीकै क्रममा किशोरीले सन्दीपसँग एकदमै धेरै भेट्न खोजेको र आफूले समय छैन भनेको सन्दीपले बयानमा भनेका छन्। २ महिनापछि खेल सकेर फर्केपछि भेट्न भन्दा पनि बारम्बार म्यासेज गरी भेट्न कर गरेपछि दयनीय स्थितिमा रहेकाले केही सहयोग समेत चाहिएको भनेपछि भेटेको सन्दीपको बयान छ।

‘तपाइँलाई भेटि केही व्यक्तिगत कुराहरु सेयर गर्न मन छ भनेकोमा मैले के भयो म के सहयोग गर्न सक्छु ? भनि म्यासेज गर्दा म भेटेर मात्रै भन्न सक्छु भनेको हुँदा ठिकै छ मलाई अहिले फुर्सद छैन फुर्सद मिल्यो भने भेटौंला भनेको थिएँ’, सन्दीपले बयान दिएका छन्, ‘भदौ ५ गते साँझ ४ बजेतिर किशोरीसँग फोनमा कुरा गरेको थिएँ। त्यतिबेला पनि भेट्न प्रस्ताव गरेकी थिइन्। तर मेरो केही मिटिङ थियो र म व्यस्त पनि भएकाले मैले निजलाई म आज अलि व्यस्त छु आज भेट्न सम्भव छैन भन्दा उनले काम सकेर आउनु म होस्टलमै पर्खिरहन्छु भनेकी थिइन्।’

साँझ मिटिङ सकिएपछि बेलुका ७ बजेतिर होस्टल जाने बाटो सोधेको तर उनले होस्टलको ठेगाना पनि नबताएको सन्दीपले भनेका छन्। त्यसपछि उनी लिटल काठमाडौं रेस्टुरेन्ट नजिकै कारमा कुरेर बसेका थिए। त्यसको २/३ मिनेटपछि किशोरी त्यहाँ पुगेकी थिइन्।

किशोरी आएर गाडीमा बसेपछि आफूले के छ तिम्रो योजना भनेर सोध्दा उनले लेट्स गो टु नगरकोट भनेको तर आफूले नगरकोट जान सम्भव छैन बरु दरबारमार्ग जाउँ अनि कफि खाउँ भन्दा पनि आफूले बिहानैदेखि नगरकोट जाने मुड बनाएको किशोरीले बताएपछि आफू भोलि गेम खेल्न जाने भएकाले नमानेको सन्दीपले भनेका छन्।

किशोरीले त्यसपछि पनि जिद्दि गर्दै एक छिन भएपनि नगरकोट पुगेर आउँ भनेर कर गरेपछि खाजा खाएर फिर्ता आउने सर्तमा गएको सन्दीपको बयान छ।

‘उनको चित्त नदुखोस भनेर उनको कुरामा सहमती जनाएर नगरकोट गएका थियौं। उनको पूर्व तयारीको बारेमा मलाई केही जानकारी थिएन। बाटोमा कुरा हुँदा उनले आफू १२ कक्षामा पढिरहेको र १९ वर्षको भएको बताएकी थिइन्’, बयानमा सन्दीपले भनेका छन्, ‘भक्तपुरको दरबार स्क्वार पुग्दा पनि यतै कतै खाजा खाउँ भनेको थिएँ। तर उनले होस्टल जतिबेला पनि खुल्ला हुन्छ। मलाई नगरकोटबाट साँझको दृश्य अवलोकन गर्न मन छ भनेकाले नगरकोट गएका थियौं।’

बाटोमा देव खनाल र ती किशोरीको सम्बन्धका बारेमा पनि सन्दीपले सोधेका थिए। किशोरीले देव खनालको खेल मन परेकाले २०२२ मार्चमा सामाजिक सञ्जालबाट चिनजान भएको बताएकी थिइन्। नगरकोटमा उनीहरुबिच धेरै कुराकानी क्रिकेट र संगीतको बारेमा भएको बताएका छन्।

सन्दीपको पुरानै चिनजान रहेको बोजिनी रिसोर्टमा उनीहरु बसेका थिए। पहिले परिवार र साथीभाइहरुसँग नगरकोट जाँदा पनि सन्दीप त्यही होटलमा बस्ने गरेका थिए। बेलुका साढे ८ बजेतिर रिसोर्टमा पुगेका उनीहरुले संगीत सुन्दै खाजा खाएको बताएका छन्। सन्दीपले गाडीमा गितार पनि लगेका थिए। त्यही गितार लगेर गितार बजाउँदै रमाइलो गरेको सन्दीपले भनेका छन्।

त्यसपछि सन्दीपले नै किशोरीलाई काठमाडौं फर्कौं भनेको बताएका छन्। होस्टल बन्द होला भन्दा पनि किशोरीले होस्टल जतिबेलासम्म पनि खुल्छ भनेको सन्दीपको दाबी छ।

‘ढिला भए पनि केहि छैन, यतै बसौँला भन्ने कुरा गरेपछि मैले हुँदैन, तिम्रा साथीलाई तिमीले मसँग आएको छु भनी बताएकी छौ, फेरि हामी फर्किने गरी आएको, भोलि मेरो आफ्नो कामको तयारी गर्नुपर्ने छ, तिमी बुझ न भन्दा निजले सायद सन्दीप मसँग बस्दैन भनेर होला रिसले मुरमुरिएर मलाई गाडीको ढोका खोली दिनुस् भनेपछि मैले टाढैबाट गाडीको लक खोली दिएको थिए। उनी गाडीमा गएर बसिन्। म बिल तिर्न काउण्टरमा गएँ। बील तिरेपछि हामी दुवै जना राति ११ बजे रिसोर्टबाट हिँडेका थियौं’, सन्दीपको बयान छ।

तर काठमाडौं फर्किएपछि ती किशोरीले होस्टल खुल्दैन भनेकी थिइन्।

‘मैले पहिले किन खुल्छ भनेको त भनेको थिएँ। त्यतिबेलै किशोरीको मोबाइलमा कसैको फोन आएको थियो। फोन उठाइनन् र उनले म्यासेज गरिन् उसले मलाई लगिदिन्छ मेरो साथीकोमा म सुरक्षित छु। म भोलि बिहान आउँछु भनि म्यासेज पठाएकी थिइन्’, सन्दीपको बयानमा उल्लेख छ, ‘मैले किन यसरी झुट बोलेको कसैले थाहा पाए भने तिमिलाई नराम्रो सोच्छन् भन्दा डन्ट वरि, फेरि पनि होस्टलबाहिरबाट कसैले फोन गर्यो भने म होस्टलमा छु भन्छु र होस्टलभित्रबाट फोन आयो भने म साथीकोमा छु भन्छु। चिन्ता लिनु पर्दैन।’ नेपालखबर

तपाईको प्रतिक्रिया