काठमाडौं । ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र श्रीलंका भिड्दैछन्। समूह १ को अन्तिम खेलमा आज इंग्ल्याण्डले श्रीलङ्कालाई जित्नै पर्ने दबाब छ। नजिते इंग्ल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिनेछ।
श्रीलङ्का भने यसअघि नै सेमिफाइनलको दौडबाटै बाहिरिसकेको छ। श्रीलङ्काले ४ खेलमध्ये २ मा जित र २ मा हार बेहोरेको छ। श्रीलंकाले जिते उसको ६ अङ्क मात्र हुनेछ जुन सेमिफाइनल पुग्न पर्याप्त छैन।
इंग्ल्याण्डले आयरल्यान्डसँग १ खेलमा मात्र हार बेहोरेको छ। यदि उसले खेल जित्यो भने उसको अस्ट्रेलियासँग समान ७ अङ्क हुनेछ। उच्च नेट रन रेटका कारण अस्ट्रेलियालाई पछिपार्दै इंग्ल्याण्ड दोस्रो स्थानमा आउनेछ।
अस्ट्रेलिया र न्यूजिल्याण्डको अहिलेसम्म ७ अङ्क छ भने इंग्ल्याण्डको ५ अङ्क छ। इंग्ल्याण्डको नेट रन रेट न्यूजिल्याण्डभन्दा कम छ तर अस्ट्रेलियाको भन्दा राम्रो छ।
यस अवस्थामा इंग्ल्याण्डले श्रीलङ्कालाई हराए सेमिफाइनलको यात्रा पक्का हुनेछ।
एजेन्सी । २०७९ कार्तिक १९, शनिबार