जसपाको चुनावी घोषणा– संविधान संशोधन अपरिहार्य

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधानलाई नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बहुमतको बलमा जारी गरेको दस्तावेजको संज्ञा दिएको छ। आसन्न निर्वाचन लक्षित घोषणा पत्रमा जसपाले संविधानलाई नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बहुमतको बलमा जारी गरेको दस्तावेजको संज्ञा दिएको हो।

संविधान जारी गर्दाका सिँगो देश दुई कित्तामा विभाजन भएको भनदै उसले संविधानमा प्रमुख दलहरूले पहिचान र सामथ्र्यताका आधारमा राज्य पुनर्संरचना गर्ने आफैँले घोषणा गरेका र पहिलो संविधानसभाले पारित गरेका पुनर्संरचनाका आधारहरूलाई उल्ट्याएको दाबी गरेको छ।

‘तिनीहरूले संविधानसभाको निर्वाचनमा जनताका बीच मत माग्दा पहिचान र सामथ्र्यताको आधारमा राज्यको पुनर्संरचना गर्ने प्रतिवद्धतासहित घोषणापत्र जारी गरेका थिए,’ घोषणा पत्रमा भनिएको छ, ‘तर, आफ्नो बहुमत भएपछि तीनवटै प्रमुख दलहरू मिलेर आफ्नो घोषणा पत्रको विपरीत गएर संविधान जारी गरे।’

संविधानले मुलुकको संघीय संरचना र समावेशी लोकतन्त्रको आधारभूत मान्यताहरुलाई अभिव्यक्त गर्न नसकेको र प्रशासनिक संघीयताको पक्षपोषण गरेको जसपाको टिप्पणी छ। जसपाले लोकतन्त्रलाई संस्थागत गर्दै सामाजिक न्याय स्थापित गर्नका लागि संविधान संशोधन तथा परिमार्जन गर्न अपरिहार्य रहेको पनि घोषणा पत्रमा उल्लेख गरेको छ।

‘शासकीय स्वरुपमा परिवर्तन, संघीय संरचनाहरुको निर्माण, न्याय प्रणालीलाई संघीय स्वरुपमा पुनर्संरचना गर्न, संवैधानिक निकायहरुलाई बलियो बनाउन, जनलोकपाल जस्ता निकायहरुको गठन गर्न, उत्पीडित समुदायको हक, अधिकार र पहिचानलाई सुनिश्चित गर्न, नागरिकतामा विद्यमान लैंगिक विभेद अन्त्य गर्न, धर्मनिरपेक्षताको व्याख्यालाई सुस्पष्ट पार्न, समावेशी लोकतन्त्रका आधारभूत पक्षहरु जस्तैः राजनीतिक लोकतन्त्र, आर्थिक लोकतन्त्र, सामाजिक तथा सांस्कृतिक लोकतन्त्र, पर्यावरणीय लोकतन्त्रलाई संस्थागत गर्दै सामाजिक न्याय स्थापित गर्नका लागि संविधान संशोधन-परिमार्जन अपरिहार्य छ,’ जसपाले भनेको छ, ‘त्यसैले संविधान संशोधन अहिलेको सङ्घर्ष र समाधानको मुख्य विषय बन्न पुगेको छ।

तपाईको प्रतिक्रिया