ट्विटरले खारेज गर्‍यो ‘ब्लू टिक’ का लागि ८ डलर लिने नियम

काठमाडौं । सामाजिक सञ्जाल ट्विटरको नीलो टिक (ब्लू टिक)का लागि मासिक ८ डलर तिर्नुपर्ने निर्णय तत्कालका लागि खारेज भएको छ। अघिल्लो हप्ता ट्विटरका मालिक एलन मस्कले गरेको निर्णय तत्कालका लागि खारेज भएको हो।

अमेरिकामा कयौँ नक्कली ट्विटर अकाउन्टहरूले ८ डलर तिरेर निलो अर्थात् ब्ल्यू टिक प्राप्त गरेको र भेरिफाइड ती अकाउन्टबाट फेक ट्विट हुन थालेपछि ट्विटरले शुक्रवारदेखि नै शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो।

मस्कले ट्विटर खरिद गर्नु अगाडि ट्विटरमा निलो टिक सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्थे। तर नयाँ नियम लागू भएपछि ८ डलर खर्चेर जो कोहीले पनि निलो टिक लिन सक्ने भएको थियो।

पैसा तिरेर निलो टिक लिन सकिने नियम लागू भएसँगै यसको दुरुपयोग बढेको समाचार संस्था रोयटर्सले जनाएको छ। विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले दुई हप्ताअघि मात्रै ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्विटर खरिद गरेका थिए।

तपाईको प्रतिक्रिया