कर्णालीमा गठबन्धन सफल भएको निष्कर्ष

सुर्खेत । कर्णाली प्रदेशमा गठबन्धन दलहरूले गठबन्धन सफल भएको निष्कर्ष निकालेका छन्। सत्तागठबन्धनको बैठकले कर्णालीमा चुनावको समीक्षा गर्दै गठबन्धन आंशिक रुपमा केही क्षेत्रमा असफल भएपनि समग्र रुपमा सफल भएको निष्कर्ष निकालेको हो।

गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन पूर्ण रूपमा सफल भएको निष्कर्ष समेत निकालेको छ।

नेकपा माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीको अध्यक्षतामा बसेको बैठकले स्थानीय निर्वाचनमा गठबन्धन असफल भएपनि मंसिर ४ को आम निर्वचनमा सफल भएर नै दुई तिहाई बहुमत आएको बताएको हो।

यस्तै, बैठकले जुम्ला जिल्लामा मात्रै गठबन्धनकै आन्तरिक समस्याका कारण असफल भएको र अन्य जिल्लाका निर्वाचन क्षेत्रबाट प्रदेशका २४ निर्वाचन क्षेत्र मध्ये १८ र समानुपातिक सहितको नतिजा हेर्दा गठबन्धनकै बहुमत पुगेको निष्कर्ष निकालेको हो।

बैठकले अब कर्णालीलाई कसरी समृद्ध गर्न सकिन्छ भन्ने विषयमा विज्ञहरुसहितको उपस्थितीमा अन्तक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरेको माओवादी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन्।

कर्णालीमा नयाँ सरकार गठनका लागि भने केन्द्रीय स्तरका नेताहरुको निर्णय कुर्नुपर्ने गठबन्धन दलका नेताहरुको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया