सिंगारिँदैछ, कर्णाली प्रदेश सभा भवन

सुर्खेत । आम निर्वाचन सम्पन्न भएसंगै कर्णाली प्रदेशसभा सचिवालय नयाँ सांसदहरुको स्वागतमा जुटेको छ । सचिवालयले पदाधिकारीका कार्यकक्ष व्यवस्थापनदेखि रंगरोगन, सरसफाइ, बगैंचा गोडमेल लगायतका कार्य गरिरहेको छ ।

प्रदेशसभा सचिव जीवराज बुढाकोथीले भौतिक व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए । उनका अनुसार पदाधिकारीको कार्यकक्ष साटफेर गरिएको छ । यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक कक्षलाई सभामुखको कार्यकक्ष, कानूनमन्त्रीको कार्यकक्षलाई मुख्यमन्त्री, माओवादी केन्द्रका दलका नेताको कार्यकक्षलाई प्रमुख विपक्षी दलका नेताको कार्यकक्षका रुपमा व्यवस्थापन गर्न लागिएको छ।

“पहिले हतार हतारमा कार्यकक्ष व्यवस्थापन गरिएको थियो,” सचिव बुढाथोकीले भने, “पाँच वर्षको अनुभव, सिकाइ र आवश्यकताका आधारमा पदाधिकारीहरुको कार्यकक्षलाई थप व्यवस्थित, आर्कषक बनाउन लागेका छौं ।” कतिपय पुरानै फर्निचरहरु प्रयोग गरिएको छ भने केही नयाँ किनेको सचिवालयले जनाएको छ।

सचिवालयले नेपाली कांगे्रस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) नेकपा (एकिकृत समाजवादी), राप्रपाका लागि कार्यालय व्यवथापन गर्दैछ । राप्रपा र एकिकृत समाजवादीबाहेक दलका कार्यालय व्यवस्थापन भइसकेका छन् । निर्वाचन आयोगले आधिकारिक रुपमा घोषणा नगरेपनि प्रदेशमा राप्रपा र एकिकृत समाजवादीका सांसदहरु थपिने निश्चित भएको छ ।

“नयाँ पदाधिकारी र सांसदहरुको स्वागतका लागि सबै तयारीहरु पुरा गर्दैछौं,” सचिवलायका सूचना अधिकारी उपेन्द्र गुरुङले भने, “हामीलाई थप दुई वटा कार्यकक्ष व्यवस्थापन गर्नुपर्नेछ, सभामुख÷उपसभामुखको पीएकक्ष पनि व्यवस्थित गर्नुपर्नेछ ।”

सदनको बैठक कक्षभित्र सत्तापक्ष र प्रतिपक्षको आकार स्पष्ट भएपछि सिट व्यवस्थापन गरिने उनको भनाई छ । बैठक कक्षमा ४० वटा कुर्ची यथावत छन् । सचिवालयले डिस्प्ले मर्मत, दु्रतगतिको इन्टरनेट जडान, गार्डेन गोडमेल, सरसफाइ लगायतका कामहरु पनि गरिरहेको छ ।

तपाईको प्रतिक्रिया