नयाँ दिल्ली । चिनियाँ सेना अरुणाचलस्थित थावाङमा घुसेपछि भारतीय संसद्मा विवाद चर्किएको छ। काँग्रेस आई लगायतका विपक्षी दलले यस विषयमा संसद्मा विरोध गरेका छन्। उनीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतसामु झुकेको भन्दै आलोचना गरेका छन्।
रक्षामन्त्री राजनाथ सिंहले मंगलवार राज्य सभा र लोकसभा दुवै सदनमा उक्त विषयमा जवाफ दिएका छन्। उनले यो विषयमा चीन सरकारसँग छलफल भएको जानकारी दिएका छन्।
उनले दुवैतर्फ झडप भए मानवीय क्षति नभएको जानकारी दिएका छन्। उनले आइतवार क्षेत्रीय कमान्डरबीच वार्ता भएको जवाफ दिएका छन्।
यसैगरी राजीव गान्धी फाउण्डेशनलाई दिल्लीस्थित चिनियाँ दूतावासले १ करोड ३५ लाख रुपैयाँ अनुदान दिँदै आएको थियो। यसै मौकामा गृहमन्त्रालयले उक्त सहयोग विदेशी अनुदान नियमन कानून अन्तर्गत अवैध भएको स्पष्ट पार्दै राजीव गान्धी फाउण्डेशनको दर्ता रद्द गरेको छ।
भारतको थावाङमा झडप
अरुणाचल प्रदेशको थावाङ क्षेत्रमा चीनले घुसपैठ गरेको थियो। शुक्रवार राति भएको झडपमा दुवै देशका सैनिक घाइते भएका थिए। भारतीय सेनाले आफ्ना ६ सैनिक घाइते भएको जनाएको छ। उनीहरूको गुवाहाटीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ। झण्डै तीन सय चिनियाँ सैनिक आएका थिए। तीमध्ये केही घाइते भएका छन्। चिनियाँ सेनाले भने आफ्ना कति सैनिक घाइते भए भन्ने बताएको छैन।
झडपपछि दुवै पक्षले तत्कालै आफ्ना सैनिक फिर्ता गरेका छन्। दुवै तर्फका क्षेत्रीय कमाण्डर बसेर बैठक बसेको थियो। शुक्रवार राति भएको झडपको जानकारी बिस्तारै सार्वजनिक हुन थालेको हो।
सैन्य स्रोतका अनुसार झडप भएको ठाउँमा घना जंगल छ। चीनले लामो समयदेखि आफ्नो पक्षमा आपूर्ति लाइन र पूर्वाधार बनाउँदै आएको छ। विगतमा यो क्षेत्रमा हिउँ परेको थियो, माथिबाट घना बादल छाएको थियो। यसले गर्दा भारतीय स्याटेलाइटहरूका लागि चिनियाँ सेनाका गतिविधि पहिचान गर्न चुनौती पुगेको थियो।
चिनियाँ सेनाले १७ हजार फिटको उचाइमा रहेको ठाउँबाट भारतीय रेखा पार गरेको थियो।
यसअघि पनि पूर्वी लद्दाखमा चिनियाँ सेना पेकोङको उत्तरतर्फ अगाडि बढेको थियो। भारतीय सेनाले पेकोङको दक्षिणी तर्फका उच्च चुचुराहरू कब्जा गरेको थियो। त्यसपछि दुवै पक्ष वार्तामा बसेका थिए।
१५ जुन २०२० मा गलवानमा भारतीय सैनिक र चिनियाँ सैनिकहरूबीचको रक्तपातपूर्ण भिडन्तमा २० जना भारतीय सैनिकहरू बेपत्ता भएका थिए। सन् १९६७ मा नाथुलामा भारत र चीनका सैनिकबीच भएको रक्तपातपूर्ण संघर्षमा भारतका ८८ र चीनका ३ सयभन्दा बढी सैनिकको ज्यान गएको थियो।
एजेन्सी । २०७९ मंसिर २७, मंगलवार