भेरी नदी किनारमा आधुनिक सहर बनाइने

सुर्खेत । पूर्वी सुर्खेतका गुर्भाकोट, लेकबेशी र भेरीगंगा नगरलाई नमुना आधुनिक सहर बनाइने भएको छ। भेरी नदी किनारमा आधुनिक सहर (स्मार्ट सिटी) बनाइने भएको हो।

सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइले भेरी नदी किनारमा स्मार्ट सिटी निर्माणका लागि ‘भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर’ को काम सुरु गरेको हो।
आर्थिक वर्ष २०७३/७४ बाट सुरु गर्ने भनिएको उक्त आयोजना हालसम्म सुरु हुन सकेको थिएन। सहरी विकास तथा भवन डिभिजन कार्यालय अन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइले यो वर्ष देखी काम सुरु गरेको छ।

आयोजना कार्यालयमा प्रमुख अमरबहादुर थापाले भेरी किनारमा भूकम्प प्रतिरोधक आधुनिक सहर निर्माण प्रक्रिया सुरु भएको बताए। उनले आधुनिक सहर निर्माणका लागि दुई, पाँच, १० र १५ बर्से योजना बनाइने बताए। थापाले जनशक्ति पूर्ति हुने बित्तिकै आधुनिक सहर निर्माणको काम अघि बढ्ने जानकारी दिए।

उनले घोरेटादेखि घाट गाउँसम्मको ११५ किलोमिटर भेरी किनारमा आधुनिक सहर निर्माण हुने भए पनि पहिलो चरणमा भेरीगंगा, गुर्भाकोट र लेकबेसी नगरपालिकालाई समावेश गरेर आधुनिक सहर निर्माण कार्य सुरु गरिने जानकारी दिए।

पुरै काम सम्पन्न गर्न झन्डै २२ अर्ब हाराहारी बजेट खर्च हुने उहाँले बताउनुभयो । स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार मातहतका निकायका साथै दातृ निकायसमेतको आर्थिक सहयोगमा भेरी किनारमा सुन्दर सहर बनाउने योजना रहेको जनाइएको छ।

भेरी किनारमा आधुनिक सहर निर्माणको सुरुवात २०७३ सालमा नेपाली काँग्रेसका उपसभापतिसमेत रहनुभएका त्यस क्षेत्रका सांसद पूर्णबहादुर खड्काले गरेका थिए।

आधुनिक सहरअन्तर्गत मेहलकुनामा सिटी हल, गुमीमा बहुउद्देश्यीय हल, बोटे चौर र छिन्चुमा आधुनिक बसपार्क लगायतका संरचना निर्माण हुनेछन्। हालसम्म सिटी हलको मात्रै निर्माण पूरा भएको छ।

घोरेटादेखि पश्चिम सुर्खेतको कर्णाली र भेरीको दोभान घाट गाउँसम्मलाई जोडेर आधुनिक सहर निर्माण सम्पन्न हुने बताइएको छ । आधुनिक सहर निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ।

स्मार्ट सिटी निर्माणका लागि ‘कृषि, पर्यटन र व्यापारको विस्तार, भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर निर्माणको आधार’ दीर्घकालीन सोच तय गरिएको छ। पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनमा भेरी किनारमा सहरीकरणसँगै कृषि, व्यापार, पर्यटन, उद्योग कारखानाको सम्भाव्यता औँल्याएको छ । कुन क्षेत्रमा के–के सम्भावना छन् र त्यसलाई कसरी लागू गर्ने भन्ने विषय पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले पाँच वर्षसम्म अलपत्र परेको नयाँ सहर योजना सुरु हुन लागेको भन्दै यहाँका जनता खुसी भएको बताए।

आधुनिक सहरलाई मूर्तरूप दिनकै लागि भेडावारिदेखि राम घाटसम्म करिब १५ किलोमिटर दूरीमा सात वटा पक्की पुल रहने भएका छन्। रामघाट, चिप्ले र कल्याणमा पुल निर्माण कार्य भइरहेको छ।

यस्तै, स्मार्ट सिटीअन्तर्गत पर्ने छिन्चु–जाजरकोट सडक खण्डको छिन्चुदेखि सिमघाटसम्म फोर लेन सडक निर्माण सुरु गरिएको छ।

तपाईको प्रतिक्रिया