कृतिका बस्नेत
धेरै पटक यो महसुस हुन्छ की म छोरी भएर किन जन्मिए ? सायद म छोरा भएर जन्म लिएको भए कति खुलेर बाँच्थे होला ? के छोरी भएर जन्म लिनु पाप नै हो त ? हिजो आज पत्रपत्रिका, अनलाइन होस् या त दृश्यश्रव्य माध्यम, या सोसल मिडिया, सबैतिर बलात्कारको खबर एउटा साधारण घटना भएको छ ।
त्यसोभए के हो त बलात्कार भनेको ? किन हुने गर्छ बलात्कार ? कसैको पनि मन्जुरीबीना करकाप, डर धम्की अथवा बलप्रयोग गरी जबरजस्ती गरिने यौन–सम्पर्कलाई बलात्कार भनिन्छ ।
आखिरमा किन हुन्छ बारम्बार बलात्कार ? किन नारी–लाई सधै बस्तुको रूपमा हेरिन्छ ? नारीलाई उसको शारिरीक– शक्ती कमजोर छ भनेर उसलाई यातना किन दिइन्छ ? उसोत त हरेक चाडबाडमा पुजिने ती देवीहरू पनि आखिरमा नारी नै हुन् ।
नारीलाई अर्को रूपमा शक्ति पनि भनिन्छ । तरपनि समाजमा नारीहरूको स्थिती सन्तोषजनक नरहेको पाइन्छ । नारीको अस्मिता माथि बारम्बार प्रहार हुँदा पनि यो समाज मौन बस्छ । धर्मशास्त्रले नारीलाई अनेकौं नाम दिएको छ ।
जस्तैः माता, देवी, शृष्टिकर्ता, शक्ती की स्वरूप आदि–इत्यादी । तर व्यवहारमा चाहीँ तिनै नारीलाई, माल, भालु, रण्डी’ वेश्य, बोक्सी, अलछिना, अशुभ जस्ता थप्रै उपमहा दिएर नारी अस्मितामाथी प्रहार गरिएको हुन्छ । यस्ता खालका उपमा दिनु एक खालको नारी माथिको प्ररार नै हो ।
यो केवल अहिलेको कुरा होइन्, परापुर्वकालदेखिनै नारीमाथी लोग्ने जातिको हैकम हो, नारी एउटा बस्तु हो भन्ने भाष्य पैदा गराएको छ ।
महाभारतको बेलामा पनि जव विशाल सभामा द्रोपतीको बस्त्रहरण भइरह्यो तव पनि कसैले आवाज उठाउन जरुरी ठानेनन् । अग्नि परीक्षा दिने पनि राम थिएनन्, सिता थिइन् ।
हामी नारीका लागि सुरक्षित हुने वातावरणको अहोभाग्य कहिलेसम्म आउला ? घर, हाटबजार, कार्यालय, विद्यालय जहाँ सुकै किन नहोस् नारीमाथी हिंसा भइरहेको हुन्छ । नारीलाई जहाँपनि यौन खेलौनाको रुपमा हेर्नु दुःखद पक्ष हो । भनिन्छ जुन घरमा नारीको जन्म हुन्छ, त्यहाँ हरेक कार्य शुभ हुन्छ । तर आजको दुनियाँमा नारी आफ्नै घरभित्र पनि असुरक्षित हुनुपर्ने अवस्था छ ।
आज नारी आफ्नै बाउ, दाजु–भाई, काका, हजुरबुवाबाट बलात्कृत भएको खबर सुन्दा आत्मा नै सिरिङ्ग हुने गर्छ । हुँदा हुँदा विद्याको मन्दीर भनिएको विद्यालयमा पनि नारीमाथी शोषण अथवा करणी भएको सुन्दा मलाई मेरो शिक्षकहरुको अनुहार याद आउँछ ।
के यो समाज नारी को लागि होइन् ? अर्कोतिर एउटा बलात्कारको शिकार भएकी नारीलाई कलात्कृ नारी भनेर उसलाई तिरस्कार गरिन्छ ? बलत्कृत नारि भनि उस्को तिरस्कार गरिन्छ ? मेरो हजुरआमाले तँ जन्मेको दिन त मेरो पेट चिसो भाथ्यो भन्नुहुन्थ्यो ।
किन र हजुरआमा ? भनेर सोध्दा उहाँ भन्नुहुन्थ्यो,‘ छोरीले समाजमा कदम–कदममा परीक्षा दिनुपर्छ । जे मैले भोगे त्या तैले कहिलै पनि भोग्न नपरोस् ।’
त्यसको बास्तविकता अहिले आएर मैले बुझ्दै छु । पुरुषवादी समाजमा के छोरी भएकै कारण डर–त्रासमै बाँचिरहनुपर्ने हो ?नारी कुनै बजारको सामाग्री, यन्त्र अथवा खजाना होइनन् । नारी समाजका निर्धो, कमजोर प्राणी हुन् भन्ने भावना समाजमा नै जन्मिएको भावना हो ।
पुरुषबाट नै नारी चिनिनु पर्छ भन्ने भावना कमजोर र दरीद्र मानसिकताको चिन्तन हो । साँचो अर्थमा भन्ने हो भने नारी पुरुष जन्माउने, पुरुषलाई पुरुषत्व कमाउन आँट दिने, साथ दिने, दया, करुणा, मायाको अवतार पनि हुन् । पुरुषलाई धर्ती देखाउने नै नारी हुन्, फेरी किन बुझ्दैन यो समाज नारी महिमालाई ?
बस्नेत सुर्खेत होराइजन एकेडमीमा कक्षा १२ मा अध्ययनरत छन् ।
नेपालीरैबार । २०७९ पुष ४, सोमबार